नेकपा छाड्नेको लर्को, १४४ जना कांग्रेस प्रवेश

नेकपा छाड्नेको लर्को, १४४ जना कांग्रेस प्रवेश
कानेपोखरी, मोरङको कानेपोखरी–७ का १४४ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्ने सबै नेकपा समर्थित हुन् । शनिवार वडा नं. ७ को शुक्रबारे र चालिस बिघेमा भएका छुट्टा छुट्टै कार्यक्रममा उनीहरू काङ्ग्रेस प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरूलाई नेपाली कांग्रेसका महासमिति सदस्य डाक्टर सुनील शर्मा, कांग्रेस नेता बसन्त भट्टराई, प्रदेश सभा सदस्य सुयर्माराज राई र नेपाल शिक्षक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवं महासमिति सदस्य केशव निरौलाले पार्टी सदस्यता दिई फुलमालाले स्वागत गर्नुभयो ।
चालिस बिघेमा ९१ जनाले नेकपा परित्याग गरेका छन् भने शुक्रबारेमा ५३ जनाले नेकपा छोडेका छन् । नेकपा छोड्नेमा धेरै जसो पूर्व नेकपा माओवादीका छन् भने केही तत्कालिन नेकपा एमालेका छन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै कांग्रेस महासमिति सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि वसन्त भट्टराईले कम्युनिष्ट सरकार कमाउ धन्दामा लागेको बताउनु भयो । उहाँले युवाहरू ढिलै भएपनि काङ्ग्रेसमा प्रवेश गरेर लोकतन्त्रको संस्थागत विकासको अभियानमा सहयोग पु¥याएको बताउनु भयो । भट्टराईले काङ्ग्रेसमा प्रवेश गर्नेले कहिल्यै पनि निरास हुनु नपर्ने बताउनु भयो । काङ्ग्रेस नेता डाक्टर सूनील शर्माले कांग्रेसमा प्रवेश गर्ने हरेक युवालाई जिम्मेवार बनाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘हाम्रो निरोगी नागरिकको अभियान गाउँ गाउँमा पुगिसकेको छ । अहिले हामी विपन्न, अल्पसङ्ख्यक र दलितका लागि निशुल्क प्राविधिक शिक्षाको अभियान चलाई रहेका छौं । प्रत्येक गाउँमा एक जना स्वास्थ्य प्राविधिक उत्पादन गर्ने लक्ष्य पुरा गर्न गाउँ गाउँका विद्यार्थीलाई निशुल्क प्राविधिक शिक्षा दिइरहेको शर्माको भनाई छ । शर्माले यो वर्ष अझै केही पुरुष विद्यार्थीका निशुल्क शिक्षा दिन सकिने बताउनु भयो ।

अर्का महासमिति सदस्य केशव निरौलाले एउटा चुनाब हार्दैमा काङ्ग्रेस नसकिने बताउनु भयो । उहाँले काङ्ग्रेस हार्दा लोकतन्त्र कमजोर हुने बताउँदै काङ्ग्रेसलाई सुदृढ बनाउन अहिले हिमाल पहाड तराई नेपाली काङ्ग्रेस राष्ट्रिय अभियान सुरु भएको उल्लेख गर्नुभयो । २०७५ मा नेकपाको सरकारले गरेको ब्यवहारले लोकतन्त्र प्रति ढुक्क हुने अवस्था नरहेको निरौलाको भनाई थियो । उहाँले नेकपाको सरकार विरुद्ध काङ्ग्रेस लाग्नु नपर्ने बताउँदै कम्युनिष्ट बिरुद्ध कम्युनिष्ट नै सडकमा ओर्लिएकोले लोकतन्त्र धरापमा पर्दै गएको दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीको नक्कली राष्ट्रवाद उदाङ्गो हुँदै गएको चर्चा गर्दै निरौलाले भन्नुभयो–‘ यस्तो राष्ट्रवादले मुलुकको रक्षा गर्न सक्दैन । पार्टीका केही कार्यकर्ता धनी बने पनि अधिकांश नक्कली राष्ट्रवादको विपक्षमा रहेकाछन् ।
मोरङ (३) क का प्रदेश सभा सदस्य एवं प्रदेश नं. १ मा नेपाली काङ्ग्रेसका सचेतक सुयर्माराज राईले बिकास निर्माणका काममा स्थानीय सरकारले असहयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो–‘ प्रदेश सभाको सांसद विकास कोषको बजेट कहाँ खर्च गर्ने त्यो सांसदले जानेको छ ।तर स्थानीय सरकारको नाममा केही स्थानमा हस्तक्षेप भएको उहाँको आरोप छ । आफ्नो निर्वाचन क्षेत्रको बिकास निर्माणका लागि आफूले सङ्घीय सरकार र प्रदेश सरकारसँग बजेट माग गरे पनि राजनीतिक आस्थाका आधारमा बजेट बिनियोजन हुँदा प्रतिपक्षी दलका सांसदहरू अन्यायमा परेको बताउनु भयो । वडा संयोजक रत्न भुजेलको सभापतित्वमा भएको कार्यक्रममा वडा सचिव काशीनाथ खनाल, पवन खत्री र हिमप्रसाद तिम्सिनाले बोल्नु भएको थियो ।


सम्बन्धित खवर