म्यानमार–दुई खेलमा अपेक्षाअनुसारको नतिजा निकाल्न नसकेको नेपालले ओलम्पिक छनोटअन्तगर्त दोस्रो चरणको अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध सान्त्वना जित निकालेको छ । पहिलो पटक आमनेसामने भएको नेपालले इन्डोनेशियाविरुद्ध २–१ को जित निकालेको हो । नेपालको जितमा सावित्रा भण्डारीले २ गोल गरेकी हुन् । इन्डोनेसियाकी अमितुन सालिहाले एक गोल फर्काएकी थिइन् । म्यानमारस्थित बाष्टो रंगशालामा पहिलो हाफ १–१ को बराबरी खेलेको नेपालले दोस्रो हाफ सकिन १ मिनेट बाँकी रहँदा जित सुनिश्चित गरेको हो ।
३६ औं मिनेटमा टोलीलाई अग्रता दिलाएकी साबित्राले ८९ औं दोस्रो गोल गरीएकी हुन् । इन्डोनेसियाकी सालिहाले पहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन् ।प्रशिक्षक हरि खड्काले मंगलबारको खेलमा ३ खेलाडी परिवर्तन गरेका थिए । गोलकिपर एन्जीला तुम्बाओ सुब्बाको स्थानमा अन्जली रानामगर, मनमाया लिम्बुको स्थानमा अमृता जोशी तथा हिरा भुजेलको स्थानमा कविता धिमालले स्थान बनाएका थिए । यसअघि भारत र घरेलु टोली म्यानमारसँग समान ३–१ को गोलअन्तरले पराजित नेपालले सान्त्वना जितसहित ओलम्पिक छनोट दोस्रो चरणको यात्रा समाप्त गरेको छ ।
यसअघि कात्तिकमा भएको पहिलो चरणमा नेपालले उत्कृष्ट गर्दै दोस्रो चरणको यात्रा तय गरेको थियो । बलियो प्रतिद्धन्दी म्यानमारसँग १–१ को बराबरी खेलेको नेपालले भारत र बंगलादेशसँग सोही नतिजा निकालेको थियो । दोस्रो चरणमा भने नेपालले अपेक्षा अनुसारको नतिजा निकाल्न सकेन् ।
पहिलो सहभागितामा दोस्रो चरणको यात्रा तय गरेको नेपाल ओलम्पिक छनोटको दोस्रो चरणबाहेक अघि बढ्न सकेन् । समूह ए बाट घरेलु टोली म्यानमार तेस्रो चरणका लागि छनोट भएको छ । अन्तिम खेलमा भारतसँग ३–३ को बराबरी खेलेपनि म्यानमार गोलअन्तरका आधारमा तेस्रो चरणमा पुग्न सफल भयो ।