नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले र पूर्व केन्द्रीय सदस्य गणेश लम्साल पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवसको अवसर पारेर मोरङ पत्रकार महासंघले शनिबार गाउँले र लम्साललाई पुरस्कृत गरेको हो ।
पत्रकार गाउँलेलाई पष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट नगद ५१ हजार राशीको पुरस्कार प्रदान गरियो भने षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार पत्रकार लम्साललाई ११ हजार राशीको पुरस्कार प्रदान गरेको हो । पुरस्कृत भएका पत्रकारहरूलाई प्रदेशको मुख्यमन्त्री शेरधन राईले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वि.सं. २०७३ सालमा स्थापना भएको हो । सूचनाको अधिकार क्षेत्रमा क्रियाशील अभियन्ता, विराटनगर–११ निवासी केदारबहादुर बस्नेतले आफ्नी दिवगंत धर्मपत्नीको स्मृतिमा स्थापना गरेका हुन् । पुरस्कारका लागि नेपाल पत्रकार संघ मोरङ शाखाअन्तर्गत सात लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।