नारायणी अस्पतालका डाक्टरले आफ्नै पत्नीको हत्या गरे

नारायणी अस्पतालका डाक्टरले आफ्नै पत्नीको हत्या गरे

वीरगंज, नारायणी अस्पतालका डाक्टरले आफ्नै पत्नीको हत्या गरेका छन् । डाक्टर पतिको पिटाईबाट घाइते भएकी सुनिता यादवको निधन भएको हो । नारायणी अस्पतालमा कार्यरत डा. सचितानन्द यादवले आफनी श्रीमती सुनितालाई मरणासन्न हुनेगरी पिटेका थिए ।

गत बिहीबार फगुवाको दिन सुनितालाई माइती ल्याइएको थियो । माइत ल्याउँदा उनी त्यसबेला घाइते थिइन् । माइतीले तत्काल बीरगञ्जमै उपचार गर्यो । त्यसपछि थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो । उपचारको क्रममा आज निधन भएको हो ।

सुनितालाई आमा सम्फूल यादव, दाइ मोहन यादव र भाइ सन्तोष यादवले शिक्षण अस्पताल काठमाडौंमा स्याहार गरिरहेका थिए । यता सुनिताको निधन भएको छ भने उता पति डाक्टर सचितानन्द हिरासतमा छन् । हिरासतमा परे लगत्तै उनी विरामी परेको भन्दै आफू कार्यरत अस्पताल नायारणीमा भर्ना भएका छन् ।

‘सचितानन्द विरामीको बहाना बनाएर अस्पतालमा आरामसँग बसिरहेका छन्, उनी फरार हुन सक्छन्’ मृतक सुनिताकी मामा सुरेन्द्रले सनराइज खबरलाई बताए । उनले भने– ‘सुनितालाई पूरै परिवारले यातना दिएको थियो । उनीहरु विरुद्ध प्रहरीमा उजुरी पनि परेको छ । तर, सचितानन्दको आमा, बुवा र भाइ फरार भइसकेका छन् ।’

निर्घात पिटाईपछि सुनिताले मानसिक सन्तुलन गुमाएकी थिइन् । सुनिताको शरीरभरी निलडाम थियो । उनलाई घाँटी थिची हत्या गर्ने प्रयास गरिएको माइती पक्षको दावी थियो ।

सुनितालाई पहिले वीरगंजको गण्डक अस्पतालमा आईसीयुमा राखेर उपचार गरिएको थियो । अस्पतालका डाक्टर सुरेन्द्र यादवले बताए अनुसार अस्पताल ल्याईपुर्याउँदा सुनिताको स्वास्थ्य स्थिति नाजुक थियो । मष्तिष्कमा अक्सिजन नपुगेर हाईपोक्सीया स्टेजमा पुगिसकेकी थिइन् ।

पर्साको हरपतगंजका डा।सचितानन्द यादवसंग १५ वर्ष पहिले वीरगंज गण्डक बहुअरीकी सुनिता यादवको २० लाख रुपैया दाईजो समेत दिई मागी विवाह भएको थियो । विवाहको एक वर्ष नवित्दै भारतको रक्सौलकी एक महिलालाई कान्छी श्रीमतीका रुपमा घर भित्र्याएका थिए । त्यबेला जिल्ला प्रशासन कार्यालयमा बहु विवाहको मुद्दा पनि दर्ता भयो तर सुनिताले न्याय पाउन सकिनन् ।

त्यसपश्चात डा।यादवले कान्छी श्रीमतीसँग मिलेर जेठी श्रीमतीलाई निरन्तर मानसिक तथा शारीरीक यातना दिँदै आएका थिए । यही कारण सुनिता डिप्रेसनको शिकार बनेकी माइतीपक्षले दावी गरेको छ ।

फिजिसियन डा।सचितानन्द यादव नारायणी अस्पतालको अलावा आफ्नो निजि क्लिनिक पनि संचालन गरेर बसेका छन् । कान्छी श्रीमतीबाट डा। यादवका दुई सन्तान छन् । कान्छी श्रीमतीसँग वीरगंजको आदर्शनगर स्थित आफनै घरमा बस्दै आएका छन् । जेठी श्रीमतीलाई भने कहिले आमा बुवासँगै आफनो पुख्र्यौली घर पर्साको हरपतगंजमा राख्ने गरेको र प्राय माईतीमै छोड्ने गरेको पिडितकी भाइ सन्तोष यादवले बताए ।

सुनिता प्रति सासु ससुराले पनि नराम्रो व्यवहार गर्ने गरेको माइती पक्षको दावी छ ।

फगुवाको दिन सुनितालाई लैजान उनको माइतीलाई फोन रिएको थियो । दाजु मनोहर यादवले बहिनीलाई घर ल्याए तर शरीरभरी चोट देखेपछि अस्पताल लगेका थिए ।

माईती पक्षले कुटपिट गरेको भनी जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिइसकेका छन् । उजुरी परेपछि पीडक भनिएका डा। सचितानन्द सोमबार आफै प्रहरी कार्यालय पर्सा आएर आफू निर्दोष रहेका जिकिर गरेको प्रहरी उपरीक्षक रेवति ढकालले बताए ।

तर, पीडित पक्षको उजुरीका आधारमा डा. सचितानन्दलाई हिरासतमा राखिएको हो । अब यो प्रकरण कर्तव्य ज्यान मुद्दामा परिणत हुने प्रहरीको भनाई छ ।
समाचार श्रोत ः सनराइज खबर

सम्बन्धित खवर