रुस्लान थ्री स्टारलाई हराउँदै दाउफिन्स फाइनलमा

रुस्लान थ्री स्टारलाई हराउँदै दाउफिन्स फाइनलमा

मकवानपुर, नेपालको चर्चित क्लब रुस्लान थ्री स्टारलाई पराजित गर्दै दाउफिन्स फुटबल क्लबले दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता २०७५ को उपाधिका आयोजक मकवानपुर–११ भिड्ने भएको छ ।

हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनलमा विहिबार थ्रीस्टारलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै दाउफिन्सले फाइनलमा आयोजकसँग भेट पक्का गरेको हो । निर्धा्रित समय १–१ गोलको बराबरीमा टुंगिएसँगै खेलको नतिजाका लागि टाइब्रेकरको सहारा लिइएको थियो ।

टाइब्रेकरमा दाउफिन्सका तर्फबाट एंगमा एंगोल, बिजिक बिजिक, प्रिसो एम्जाम्बे, हान्सा एसा र यानिक ओआनाले गोल गरेका थिए । थ्रीस्टारको तर्फबाट रञ्जित धिमाल, मान्सा र विजय धिमाले गोल गरे । भरपर्दा तथा अनुभवी खेलाडी अनिल गुरुङको प्रहार भने बाहिरिएको थियो ।

खेलको ६० औं मिनेटमा दाउफिन्सका यानिक ओवानाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ओवानाले बिजिक बिजिकले गरेको क्रसमा हेड गर्दै गोल गरेका थिए । थ्रीस्टारका रञ्जन विष्टले ७० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । रञ्जनले दाउफिन्सको गोलरक्षक र डिफेन्सविच तालमेलको अभाव भइरहेको समयमा गोलरक्षकलाई विट गर्दै सहजै गोल गरे । थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले खेलभर दाफिन्सका थुप्रै प्रहार बचाएका थिए ।

खेलको म्यान अफ दी म्याच थ्रीस्टार क्लबका डिफेन्डर जीवन गुरुङ घोषित भए । उनले नगद दश हजार रुपियाँ प्राप्त गरे । खेलपश्चात् थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिए । उनले दाफिन्सले धेरै फाउल खेलेको र आफूहरुले समयमै रेफ्रिलाई सजग नगराए धेरै खेलाडी अस्पतालमा भर्ना हुने अवस्था सिर्जना हुने बताए । थ्रीस्टारका कप्तान एलन न्यौपानेले भाग्यले साथ नदिँदा खेलमा पराजित भएको बताए ।

दाउफिन्सका टिम व्यवस्थापक आशिक थापा मगरले खेलाडीले समयमै गोल नगर्दा केही समस्या परेको दावी गरे । उनले प्रतियोगिताको फाइनलमा अझै सुधारिएको खेल खेल्ने दावी समेत गरे । उनले रेफ्रिले समयमै निर्णय लिन नसक्दा खेलमा केही तनावको अवस्था सिर्जना भएको बताए ।

प्रतियोगिताको फाइनल खेल चैत १६ गते शनिबार हुनेछ । प्रतियोगिताको विजेताले आठ लाख र उपविजेताले चार लाख रुपैयाँ प्राप्त गर्नेछ ।

सम्बन्धित खवर