सप्तरी, इटहरी लगायत पूर्वका विभिन्न ठाउँबाट सप्तरीको कोसीटप्पु वन्यजन्तु आरक्षभित्रको खाली जग्गा अतिक्रमण गर्न पुगेकाका सयौं मानिसलाई प्रहरीले लखेटेको छ । उनीहरुलाई प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरी बुधबार लखेटेको हो ।
कन्चनरुप नगरपालिका–१, वैरवानजिक आरक्षको जग्गामा घर बनाउन विभिन्न जिल्लाबाट आएका करिब ५०० मानिस लखेटिएका हुन् । घन्टौंसम्म खाली गर्न सम्झाउँदा नमानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी आरक्षबाट उनीहरुलाई लखेटेको सप्तरी प्रहरीले जनाएको छ ।
सोक्रममा मंगोलियन नेसनल अर्गनाइजेसनका शक्ति चाम्लिङ राईसहितलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक खेम थापाले जानकारी दिए ।अर्गनाइजेसन प्रदेश नम्बर–२ का इन्चार्ज राईको अगुवाइमा सुकुम्वासी बस्ती बसाउन उनीहरु त्यहाँ पुगेका हुन् ।
सरकारले जग्गा बाँडिरहेको भ्रम फिजाउँदै सुकुम्बासीलाई उक्त क्षेत्रमा बोलाइएको पाइएको छ ।अर्गनाइजेसनले नै जग्गा वितरण भइरहेको हल्ला फैलाएर मानिस जम्मा गर्न लगाएको पाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
घर बनाउन चाहिने सामग्री, दैनिक उपभोग्य वस्तु, खाना पकाउने ग्याससहित बालबच्चा लिएर आएका उनीहरुको घर बनाएर बस्ती बसाउने योजना रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।