हेटौंडा, साविकको विजेता रुस्लान थ्रीस्टार क्लब दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा सरस्वती युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टार क्लबले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
थ्रीस्टारको जीतमा दुवै गोल विदेशी खेलाडीले गरे । थ्रीस्टारको तर्फबाट खेलको २४ औं मिनेटमा विदेशी खेलाडी मान्साले गोलको खाता खोलेको थिए । सरस्वतीका गोलरक्षक प्रदीप भण्डारी र डिफेन्डरवीच तालमेल नमिलेको अवस्थामा उनले गोल गरेका हुन् । थ्रीस्टारका डिफेन्डर पिटरले खेलको ६० औं मिनेटमा गोल गर्दै जीत सुनिश्चित गरे । पिटर खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले दश हजार रुपैयाँ समेत हात पारे ।
थ्रीस्टारले जीतसँगै सेमिफाइनलमा क्यामरुनी क्लब दाउफिन्ससँग भेट पक्का गरेको हो । थ्रीस्टारको जितसँगै क्वाटर फाइलको समिकरण समेत पूरा भएको छ । प्रतियोगिताअन्तर्गत बुधबार आयोजक मकवानपुर–११ र नेपाल पुलिसवीच पहिलो सेमिफाइनल खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा विभिन्न दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले आठ लाख रुपैयाँ र उपविजेताले चार लाख प्राप्त गर्नेछन् ।