वन डढेलो सम्बन्धि अन्तरक्रिया सम्पन्न

वन डढेलो सम्बन्धि अन्तरक्रिया सम्पन्न

भीमराज अधिकारी, पथरी

वन डढेलो सम्बन्धि सप्ताह मनाइरहेका बेलामा मंगलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पूर्वी मोरङका पत्रकारहरुसंग डिभिजन वन कार्यालय मोरङ, मोरङका सामुदायिक, साझेदारी, धार्मिक वनका पदाधिकारी सहित सो कार्यक्रम सम्पन्न भएको हो ।

बेलबारीमा रहेको वेतना सामुदायिक वनको सभाहलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा वन डढेलोलाई न्यूनिकरण गर्नका लागि विशेष गरी के गर्न सकिन्छ ? भनेर छलफल भएको थियो । छलफलमा हाल सम्म भइरहेका क्रियाकलापहरु, आगामी दिनमा सतर्कता अपनाउनु पर्ने विषयका बारेमा छलफल भएको थियो । हाल सम्म पुरानै शैलीबाट डढेलो नियन्त्रण गरिदैँ आएको सहाभागीहरुले बताए ।

स्टेजमा विशाल घिमिरे

सामान्यतया नेपालमा ५८ प्रतिशत डढेलो मानवीय कारणले लाग्ने गरेको मोरङ डिभिजनल वन अधिकृत विशाल घिमिरेले बताए । हाल मोरङमा रहेका सबैजसो वनहरुमा दैनिक रुपमा डढेलो लाग्ने गरेको छलफलमा बताइएको छ । वनमा डढेले लगाउने मानिस फेला परेमा उसलाई कडा भन्दा कडा कार्वाही हुनेकुरा पनि घिमिरेले बताए । यसरी डढेलो लागाउने मानिसका बारेमा सुचना दिनेलाई पुरस्कारको व्यवस्था गरिनुका साथै हरेक क्षेत्रमा डढेलो लाग्नबाट वनलाई जोगाउन कार्यक्रमहरु भइरहेका छन् । हाल मोरङमा चोरी सिकारी पनि तुलनात्मक रुपमा घटिरहेको घिमिरेले जानकारी दिए । फागुन देखि जेष्ठ सम्म सबैभन्दा वढि डढेलो लाग्ने भएकाले सबै वन समुहहरुले यसका लागि विशेष सतर्कता अपनाउन, पानीको व्यवस्थापन, आधुनिक औजार, सामग्री, सबै उपभोक्ताहरुलाई परिचालन लगाएतका आवश्यक सबै कुराको व्यवस्थापन गर्न घिमिरेले सुझाए ।

स्टेजमा प्रकाश पौडेल

वन क्षेत्रमा २४ सै घण्टा डढेलो लाग्ने खतरा रहेको पथरीशनिश्चरे साझेदारीका अध्यक्ष प्रकाश पौडेलले बताए । आधुनिक औजारको अभावमा भनेको समयमा डढेलो नियन्त्रणमा लिन समेत नसकिएको पौडेलको भनाइ थियो । वन सबैको साझा भएका कारण सबैले यसको संरक्षणमा ध्यान दिनुपर्ने पौडेलले बताए । आगामी दिनमा डढेलोबाट वनलाई जोगाउनका लागि आधुनिक उपकरणहरु व्यवस्थापन गर्ने तयारी भइरहेको पौडेलले जानकारी दिए ।

स्टेजमा नविन राई

डढेलो लागेको खण्डमा नियन्त्रणका लागि पुरानै तरिका अपनाउदै आएको ग्रामिण सुधार सामुदायिक वनका अध्यक्ष नविन राईले बताए । आधुनिक उपकरण व्यवस्थापन नभएका कारण अहिलेपनि आगलागी हुनासाथ त्यसको प्रकृति हेरेर सुरक्षा निकाय, वन डिभिजन, उपभोक्ताहरुलाई जानकारी गराएर तत्काल निन्त्रणमा लिने गरेको राइले बताए ।

स्टेजमा डम्बर बहादुर बस्नेत

कार्यक्रमको समापन गर्दै बेतना सामुदायिक वनका अध्यक्ष डम्बर बहादुर बस्नेतले बेतनामा डढेलोबाट वन जोगाउन निकै मुस्किल पर्ने गरेको बताए । पर्यटकीय क्षेत्र भएका कारण हरेक किसिमका मानिसहरुको आवागमन हुने, ठुलो संख्यामा मानिसको आवत जावत हुने भएकाले कतिबेला डढेलो लाग्छ टुङ्गो नहुने बस्नेतको भनइ थियो । बेलबारीका ११ वटै वडाहरुमा चाडैँ नै डढेलो सम्बन्धि सचेतना मूलक बोर्डहरु राख्ने तयारी भइरहेको बस्नेतले जानकारी दिए ।

समयमा नै सुचना प्रवाह गर्न सकेमा डढेलेबाट बच्न सकिने कुरा सहभागीहरुले उठाएका थिए । विद्यालय स्तरमा जनचेतना जगाउने, सञ्चार माध्यमको वढी प्रयोग गरेर जनचेतना जगाउने, वैज्ञानिक वनले गर्दै गरेको कार्य, गस्ती बढी मात्रामा गर्ने जस्ता कुराहरु छलफलमा आएका थिए । मोरङमा हाल २४ वटा सामुदायिक र ४ वटा साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापन लागू भएको छ । मोरङमा पूर्व पश्चिम लोकमार्ग दक्षिण ४ प्रतिशत र राजमार्ग उत्तर ९६ प्रतिशत वन जंगल रहेको छ ।

सम्बन्धित खवर