भरतको ह्याट्रिकसँगै पुलिस सेमिफाइनलमा

भरतको ह्याट्रिकसँगै पुलिस सेमिफाइनलमा

हेटौंडा, पुलिसका फरवार्ड भरत शाहले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लब दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमा जारी प्रतियोगितामा फ्रेण्डस क्लब काठमाडौंलाई ३–० गोलअन्तरले पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको १२ औं मिनेटमा भरतले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम ३ मिनेटमा २ गोल गर्दै भरतले ह्याट्रिक पूरा गरे ।

खेलको म्यान अफ द म्याच समेत घोषित भरतले १० हजार रुपैयाँ प्राप्त गरे । पुलिसका प्रशिक्षक अनन्तराज थापाले आफू खेलाडीको प्रदर्शनबाट खुशी रहेको बताए । फ्रेण्डसका प्रशिक्षक चेतनाथ श्रेष्ठले ए डिभिजन टिम सेट नहुँदा समस्या भएको बताए ।

मंगलबार थ्रीस्टार क्लब र सरस्वती क्लबबीच खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले नगद आठलाख रुपियाँ र उपविजेताले नगद चारलाख रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल चैत १६ गतेहुनेछ ।

सम्बन्धित खवर