२३२ रोजगार संयोजकका लागि भोलि आवेदन खुल्ने

२३२ रोजगार संयोजकका लागि भोलि आवेदन खुल्ने

काठमाण्डौ – सरकारले पदपूर्ति हुन बाँकी २३२ स्थानीय तहमा रोजगार संयोजकका लागि बिहीबार फेरि आवेदन खुलाउने तयारी गरेको छ ।

७५३ वटै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिका लागि यसअघि नै आवदेन लिए पनि आवश्यकता अनुसार पदपूर्ति नभएपछि फेरि आवेदन खुलाउने तयारी भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा संयोजक प्रकाश दाहालले उज्यालोलाई जानकारी दिनुभयो । पुरानै मापदण्डअनुसार खाली रहेका स्थानीय तहमा रोजगार संयोजकको पदपूर्ति गर्न लागिएको हो ।

‘पुरानै प्रक्रिया र मापदण्डअनुसार बाँकी रहेका स्थानीय तहमा पदपूर्ति हुन्छ,’ उहाँले भन्नुभयो, ‘सरकारले भोलि ९बिहीबार० विज्ञापन खुल्दैछ, तर यो पालि १० दिनको मात्रै आवेदनको समय रहनेछ ।’

मन्त्रालयले रोजगार संयोजकका लागि गएको माघ १८ गतेसम्म आवेदन मागेको थियो । २३ हजार ९ सय ६८ जनाले आवेदन दिएका थिए । तीमध्ये २ हजार २ सय ६५ जना उम्मेदवार प्रारम्भिक योग्यता क्रममा छानिएका थिए ।

प्रारम्भिक योग्यता क्रममा छानिएका उम्मेदवारको फागुन ११ र १२ गते अन्तिम छनौटका लागि अनलाइन प्रणालीमा आधारित कम्प्युटर सीप परीक्षणको परीक्षा लिइएको थियो ।

परीक्षामा उत्तीर्ण हुन ५० पूर्णाङ्कमा कम्तीमा २५ अंक प्राप्त गर्नु पर्ने व्यवस्था गरिएको थियो । तर ७ सय ५३ वटै स्थानीय तहमा एक–एक जना रोजगार संयोजक आवश्यक भए पनि ५ सय २१ जना उत्तीर्ण भएका थिए । मागअनुसार पदपूर्ति हुन नसकेको २३२ वटा स्थानीय तहमा फेरि पुरानै प्रक्रियाबाट पदपूर्ति हुन लागेको हो।

प्रदेश १ मा आवश्यक १३० अधिकृत तहमध्ये ६७ जना मात्र पास भएका छन् भने नायव सुब्बामा ७ जना मागिएकोमा ५ जनाको मात्र उत्तीर्ण भएका छन् । प्रदेश १ मा सुब्बामा २ र अधिकृत तहमा ६३ जनाको पदपूर्ति हुन बाँकी छ ।

प्रदेश २ का आवश्यक १३६ अधिकृतमा ९८ जनाले मात्र नाम निकालेका छन् भने ११२ सुब्बा चाहिनेमा ९५ जना मात्र उत्तीर्ण भएका छन् । प्रदेश २ मा सुब्बामा १७ र अधिकृत तहमा ३८ जनाको पदपूर्ति हुन बाँकी छ ।

प्रदेश ३ मा ११२ जना अधिकृत तहका कर्मचारी माग भए पनि ९५ जना मात्र पास भएका छन् । प्रदेश ३ मा अधिकृत तहमा १७ स्थानमा पदपूर्ति हुन बाँकी छ ।

गण्डकी प्रदेशमा पनि ७४ जना अधिकृत तहका कर्मचारी चाहिएकोमा ६१ जनाले मात्र नाम निकालेका छन् । गण्डकी प्रदेशमा अधिकृत तहमा १३ जनाको पदपूर्ति हुन बाँकी छ ।

प्रदेश पाँचमा अधिकृत तहमा चाहिने जति उम्मेदवार पास भएका छन् । तर नासू तहमा ६२ जना माग भए पनि २० जनाले मात्र कम्प्युटर परीक्षा पास गरेका छन् । सुब्बा तहमा ४२ जनाको पदपूर्ति हुन बाँकी छ ।

कर्णाली प्रदेशमा ६२ अधिकृत मागिएकोमा २० जना मात्र उत्तीर्ण भएका छन् भने १७ जना सुब्बा चाहिनेमा ९ जनाले मात्र नाम निकालेका छन् । कर्णाली प्रदेशमा अधिकृत तहमा २० र सुब्बामा ८ स्थानमा पदपूर्ति हुन बाँकी छ ।

सुदूरपश्चिममा ८२ जना अधिकृत तहका रोजगार संयोजक मागिएकोमा ३३ जना मात्र उत्तीर्ण भएका छन् । सुदूरपश्चिम प्रदेशमा अधिकृत तहमा ४९ स्थानमा पदपूर्ति हुन बाँकी छ ।

सम्बन्धित खवर