यो वर्षको एसईई पनि गाइड र गेसपेपरकै भरमा

यो वर्षको एसईई पनि गाइड र गेसपेपरकै भरमा

बर्दिबास, महोत्तरी खयरमाराका रामकृष्ण थापाकी छोरी आइतबादेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुँदैछिन्। वर्षभरि स्कुलमा पढेको भरमा परीक्षामा राम्रो लेख्नेमा उनको छोरी ढुक्क हुन सकेकी छैनन्। थापालाई पनि छोरीले परीक्षामा राम्रो अंक ल्याउने विश्वास छैन। त्यसैले उनले छोरीका लागि आठै विषयका गाइड, गेसपेपर किनिदिएका छन्।

थापाले भने, ‘सामुदायिक विद्यालयमा पढाइ हुँदैन। शिक्षकहरू दलको झन्डा बोकेर हिँड्छन्। गाइड नपढाई परीक्षामा सहभागी गराउनै सकिन्न।’ यस्तै धनुषा मिथिला नगरपालिका—११ तुलसीका सरिता तामाङले छोराका लागि एक हजार दुई सय ७० रुपैयाँमा गेसपेपर र गाइड खरिद गरिदिइन्। थापा र तामाङ मात्र हैन, एसईई दिने धेरै विद्यार्थीले अभिभावकलाई गाइड र गेसपेपर किन्न लगाएका छन्।

यतिबेला बजारमा गेसपेपर र गाइडको माग उच्च छ। पुस्तक पसलेलाई बिक्री गर्न भ्याइनभ्याइ छ। अभिषेक पुस्तक पसल बर्दिबासकी कुसुम सेन ठकुरीले भनिन्, ‘मंसिरदेखि नै बजारमा गेसपेपर गाइड आउँछ। अधिकांशले परीक्षा नजिकै आएपछि मात्रै किन्छन्।’

विद्यालय व्यवस्थापन समितिको लापरबाहीले सामुदायिक विद्यालयको शैक्षिक वातावरण खस्किएको गौशाला रजखोरका पूर्वशिक्षक वासुदेव महतो बताउँछन्। ‘यहाँ राम्राभन्दा हाम्रा व्यक्तिलाई शिक्षक नियुक्त गरिन्छ,’ उनले भने, ‘योग्यले पढाउन पाउँदैनन्। अयोग्यले पढाउँदा विद्यार्थी फेल हुन्छन्।’ स्कुलमा राम्रो पढाइ नभएकाले विद्यार्थी गाइडको भर पर्नु बाध्य रहेको उनले बताए।

स्कुलमा राम्रोसँग पढाइ नहुने र विद्यार्थीमा पठन संस्कृति नभएकाले शैक्षिक स्तर खस्कँदै गएको बर्दिबासका शिक्षक हेमसागर वाग्ले बताउँछन्। उनले भने, ‘शिक्षकले राम्ररी नपढाउँदा विद्यार्थीले परीक्षाको तयारी गर्न पाउँदैनन्। अनि अन्तिम समयमा गाइड र गेसपेपरकै भर पर्नुपर्छ।’

जनकपुर पिराडीचोकका अजय जसवाल शिक्षकले राम्ररी नपढाउँदा विद्यार्थी मार परेको बताउँछन्। उनी भन्छन्, ‘सबै शिक्षकले राम्ररी पढाउँदैनन्। परीक्षामा राम्रो अंक ल्याउन गाइड नपढी हुँदैन।’ परीक्षाका लागि प्रदेश २ मा दुई सय ६३ केन्द्राध्यक्ष र ३ सय ४५ जना सहायक केन्द्राध्यक्ष तथा तीन हजार चार सय ३६ जना निरीक्षक खटाइएको शिक्षा विकास निर्देशनालय प्रदेश २ का निर्देशक रामाकान्त शर्माले बताए।

चार लाख ७५ हजार परीक्षार्थी

आइतबार सुरु एसईईमा नियमित र आंशिक गरेर चार लाख ७५ हजार परीक्षार्थी सहभागी हुँदैछन् । तीमध्ये सबैभन्दा धेरै प्रदेश ३ बाट एक लाख ६ हजार दुई तथा सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६ सय २४ परीक्षार्थी छन् । यस्तै प्रदेश १ बाट ८३ हजार आठ सय १८, प्रदेश २ बाट ७० हजार पाँच सय ६८, गण्डकी प्रदेशबाट ४८ हजार ३६, प्रदेश ५ बाट ७६ हजार नौ सय ८३ र सुदूरपश्चिमबाट ५३ हजार नौ सय ७२ परीक्षार्थी सहभागी हुँदैछन् ।

परीक्षा सञ्चालनका लागि मुलुकभर एक हजार नौ सय ६९ केन्द्र निर्धारण गरिएको छ । प्रश्नपत्र तथा उत्तरपुस्तिका सम्बन्धित जिल्लामा पुगिसकेको परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिए । उनले भने, ‘उपत्यकाबाहेकका जिल्ला प्रहरी कार्यालयमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसेकको छ । कर्मचारी व्यवस्थापन पनि गरिसकेका छौं ।’ परीक्षा चैत २१ गते समाप्त हुनेछ ।

परीक्षामा साधारणतर्फका ६ विषयका प्रश्नपत्र सात थरी सोधिने भएको छ । शिक्षा ऐनले कक्षा ११ र १२ लाई विद्यालय शिक्षामा गाभेपछि कक्षा १० को अन्तमा लिइने परीक्षाको दायित्व प्रदेशमा गएको छ । केन्द्रमा रहेको राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा १२ को परीक्षा मात्र सञ्चालन हुने शिक्षा ऐनमा व्यवस्था छ । तर प्रदेशक स्तरमा परीक्षा सञ्चालनका लागि आवश्यक संरचना तयार नभएका कारण केन्द्रबाटै सञ्चालन गर्न लागिएको हो ।
रातोकलमबाट

सम्बन्धित खवर