पथरी, मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा रहेका द्वन्द प्रभावितहरुले आफुहरुलाई दिगो आयआर्जन हुने खालको कार्यक्रम ल्याउन नगरसंग माग गरेका छन् ।
कुर्भे वेस्ट्रोको सहयोगमा मानव अधिकारका लागि एकल महिला समूहले पथरीशनिश्चरे नगरमा आयोजना गरेको एक कार्यक्रममा उनिहरुले यस्तो माग गरेका हुन् । समूहकी अध्यक्ष रीता गिरीले नगरले द्वन्द प्रभावितको जीवनउपयोगी, दिगो रुपमा आयआर्जन गर्न सकिने योजना बनाउनु पर्नेमा जोड दिइन् ।
द्वन्द प्रभावित महिलाको सत्य तथा मेलमिलाप आयोगद्धारा न्यायमा पहुँच सम्वन्धि अन्तरक्रियात्मक कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राईले द्वन्द प्रभावितहरुको तथ्यांक संकलन गरी उनीहरुका लागि योजना बनाउने बताए । हाल तथ्यांक संकलनको कामको तयारी भइरहेको पनि राइले बताए ।
उपप्रमुख यमुना विष्ट वास्तोलाले महिला लक्षित कार्यक्रमको सीपमुलक तालिमहरुमा सो समूहका महिलालाई सहभागि बनाएर लाने प्रतिवद्धता जनाएकी छन् । समूहको विराटनगर महानगरपालिका तथा सुन्दरहरैंचा, पथरीशनिश्चरे, बेलबारी नगरपालिका र ग्रामथान गाउँपालिकामा शाखा रहेको छ । प्रदेश नम्वर १ मा द्वन्द प्रभावितको १ हजार ५ सय वटा उजुरी परेको तथ्यांक छ ।