एएफसी यू–२३ च्याम्पियनसिपको छनोटखेलमा ओमानसँग नेपालको १–० को हार

एएफसी यू–२३ च्याम्पियनसिपको छनोटखेलमा ओमानसँग नेपालको १–० को हार

कतार, नेपालले एएफसी यू–२३ च्याम्पियनसिपको छनोटअन्तर्गतको पहिलो खेलमा हार बेहोरेको छ । नेपालले ओमानसँग १–० को हार बेहोरेको हो ।

कतारस्थित दोहा स्पोर्टस सिटीको एस्पायर–४ मैदानमा शुक्रबार भएको एकपक्षीय खेलमा नेपालले सुरुवाती गोल खाएपनि त्यसपछि थप गोललाई रोक्न सफल भयो । ओमानका अल मल्कीले १३औं मिनेटमा गरेको गोल नै नेपालको हारमा निर्णायक बन्यो । खेलभर नै ओमानले नेपाललाई दवावमा राखेको थियो । एक गोल खाइसकेपछि नेपालले रक्षात्मक खेल्दै ओमानलाई रोक्न सफल भयो । नेपालले कुनैपनि समय ओमानको पोस्टमा आक्रमण बुन्न सकेन ।

सिनियर टिममा जस्तै उमेर समूहमा पनि नेपालले ओमानसँग सकरात्मक नतिजा निकाल्न सकेन । सिनियरमा नेपाल र ओमानबीच १० खेल भएकोमा नेपालले एक खेल पनि जित्न सकेको छैन । सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने प्रतियोगिताका लागि छनोट चरणमा ११ समूह छन् । समूह ‘ए’ मा नेपालले ओमान, कतार र अफगानिस्तानसँग खेल्नुपर्नेछ । ११ समूहबाट समूह विजेता र उत्कृष्ट पाँच उपविजेता गरी १५ टिम तथा आयोजक थाइल्याण्डले एएफसी यू–२३ फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । नेपालले दोस्रो खेलमा आइतबार कतार र तेस्रोमा मंगलबार अफगानिस्तानसँग खेल्नेछ ।

सम्बन्धित खवर