पथरीशनिश्चरे नगरको स्वास्थ्य क्षेत्रमा प्रभावकारी गतिविधि भएको निष्कर्ष

पथरीशनिश्चरे नगरको स्वास्थ्य क्षेत्रमा प्रभावकारी गतिविधि भएको निष्कर्ष

पथरी, मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा सञ्चालित स्वास्थ्य क्षेत्रका कार्यक्रम प्रभावकारी रहेको चर्चा भइरहेको बेला अभ्यास अध्ययनका क्रममा आएका स्वास्थ्य विषयका विद्यार्थीहरुले पनि प्रभावकारी गतिविधि भएको निष्कर्ष निकालेका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मास्टर इन पब्लिक हेल्थको दोस्रो वर्षका विद्यार्थीहरुले अध्ययनका क्रममा त्यस्तो तथ्य बाहिर ल्याएका हुन् ।

शुक्रबार पथरीशनिश्चरे नगर क्षेत्रको स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र सहितको अवलोकन र अध्ययनका क्रममा अन्य पालिका भन्दा पथरीशनिश्चरे प्रभावकारी देखिएको उनीहरुले बताए । ५ जनाको टोलीका सदस्य विश्वास सुवेदीले अन्यत्रका पालिकाहरुको स्वास्थ्य कार्यक्रम तीन तहको सरकारपछि अलमलिएको अवस्थामा पथरीशनिश्चरेले चाँही सामुदायिक सहकार्यका कार्यक्रमहरु समेत गर्नु प्रभावकारी कदम भएको समीक्षा गरे ।

सुवेदीका साथै डाक्टर विध्वता भट्टराई, डाक्टर पूजा देवकोटा, प्रतिमा भण्डारी र अनुपमा आलेले नगर प्रमुख दिलिपकुमार राई सहितका जनप्रतिनिधि तथा नगर स्वास्थ्य संयोजक मुरारी आचार्यलाई भेटी छलफल एवम् अन्तरक्रिया गरे । जिल्ला स्वास्थ्य समन्वय कार्यालयमार्फत १ महिनाको अध्ययनका क्रममा जिल्लाका विभिन्न स्वास्थ्य केन्द्रमा खटिएका छन् ।

सो नगरमा ८० वर्षमाथिकालाई घरघरमा गएर चेकजाँच, ७० वर्षमाथिकालाई प्रदेश नम्वर १ भरीमा निशुल्क एम्बुलेन्स सेवा, क्यान्सर, मृगौला सहितका ५ प्रकारका जटिल रोगीका लागि जीवनमा एक पटक १५ हजार सहयोग सहितका कार्यक्रमहरु छन् । यसका साथै हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियानमा स्थानीयको सक्रिय सहभागितामा ९० प्रतिशतलाई औषधि सेवन गराएर जिल्लामै नमूना काम गरिसकेको छ । खोप सहित अन्य स्वास्थ्यका गतिविधिमा नगरको सक्रियता रहेको छ ।

१० वटै वडामा स्वास्थ्य उपचार केन्द्र खडा गर्ने अभियानमा लागेको नगरमा हालसम्म वडा नम्वर १ मा सहरी स्वास्थ्य केन्द्र, २ मा ठूलो भवनमा स्वास्थ्य चौकी निर्माण भएको छ । सो स्वास्थ्य चौकीलाई अस्पतालको रुप दिने सरकारी प्रक्रिया थालिएको छ । ३ मा शहरी स्वास्थ्य केन्द्र, ५ मा हसन्दह स्वास्थ्य चौकी छ । ६ मा भर्खरै सहरी स्वास्थ्य केन्द्र खडा भई कर्मचारी नियुक्तिको प्रक्रिया अघि बढेको छ । ९ मा शनिश्चरे स्वास्थ्य चौकी छ । जसको दाताहरुले जग्गा दान दिएपछि व्यवस्थित भवन वन्दै छ । वाँकी रहेका ४ वटा वडामा पनि स्वास्थ्य निकाय खडा गर्ने योजना रहेको नगरपालिका प्रमुख दिलिपकुमार राईले जनाए। चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रका लागि १ करोडको बजेट नगरले विनियोजन गरेको थियो ।

सम्बन्धित खवर