रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला हुने भएको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ ।
अठार वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९(ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।
परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइट धधध.भयभचक.भउकलभउब.िनयख.लउ बाट भर्न सकिनेछ । आवेदन फाराम दर्ता गर्दा परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नु पर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रङ्गीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्ने छ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्ने छ ।
परीक्षा शुल्क चौबिस अमेरिकी डलर लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट हुन आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंक र आइएमई–पे तथा इ सेवामार्फत बुझाउन सकिने इपिएस शाखाले जनाएको छ ।
कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौं र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिनेछ ।
यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटा यस पटकदेखि केही सङ्ख्यामा वृद्धि भएको छ । सन् २०२० का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ । पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत आठ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो ।