भारतले पाँचौं महिला साफ च्याम्पियनसिपको उपाधि जितेको छ । शुक्रबार भएको उपाधि भिडन्तमा आयोजक राष्ट्र नेपाललाई हराउँदै भारतले पाँचौं पटक उपाधि जितेको हो ।
विराटनगरको शहीद रंगशालामा भएको यस खेलमा समूह ‘ए’ को विजेता बनेको नेपाललाई हराउन डालिमा छिब्बर, ग्रेस दाङमयी र अञ्जु तामाङले समान एक–एक गोल गरिन् । यता पराजित टोली नेपालका लागि भने साबित्रा भण्डारी ‘साम्बा’ले एक गोल गरिन् । भारतका लागि खेलको २६ औं मिनेटमा डालिमा छिब्बरले गोल गरिन् । हीराकुमारी भुजेलले भारतीय खेलाडीमाथि फल गरेपछि भारतले फ्रिकिक पाएको थियो । जसमा, डालिमाले सोझै गोल गर्न सफल भइन् ।
यसैगरी १–० ले पछाडि रहेको नेपालले खेलको ३५ औं मिनेटमा बराबरी गर्यो । उसका लागि साबित्रा भण्डारी ‘साम्बाले हेडिङमार्फत् आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याइन् । तर, खेलको ६१ औं मिनेटमा भारतले २–१ को अग्रता लियो । उसका लागि ग्रेसले गोल गर्दै भारतलाई २–१ को अग्रता दिलाइन् । यसैगरी भारतका लागि अञ्जु तामाङले तेस्रो गोल गरिन् । उनले खेलको ७७ औं मिनेटमा गोल गर्दै भारतलाइ ३–१ को जित दिलाइन् ।
यससँगै चार पटकसम्मको विजेता भारतले पाँचौं पटक उपाधि जितेको छ । सन् २०१०, २०१२, २०१४ र २०१६ को विजेता भारतले यस पटकको उपाधि जितेपछि पाँचौं पटकको उपाधि जितेको हो । यता पराजित टोली नेपालले भने चौथो पटक पनि उपविजेतामै चित्त बुझाएको छ ।