साफ महिला च्याम्पियनसिपकोे फाइनलमा नेपाल र भारत भिड्ने

साफ महिला च्याम्पियनसिपकोे फाइनलमा नेपाल र भारत भिड्ने

पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले श्रीलंकालाई र भारतले बंगलादेशलाई पराजित गर्दै उपाधि भिडन्त तय गरेका हुन् । बुधबर भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै नेपाल चौथोपटक फाइनलमा पुगेको हो ।

नेपालको जितमा पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले एकरएक गोल गरे । पुनमले खेलको ४२औं, अनिताले ७३औं, सावित्राले ८२औं र रेखाले ८५औं मिनेटमा गोल गरेका हुन् । पहिलो उपाधिको खोजीमा रहेको नेपालले यसअघि समूह चरणमा भुटान र बंगलादेशलाई समान ३–० ले पराजित गरेको थियो ।

नेपालले अब उपाधिका लागि शुक्रबार भारतसित खेल्नेछ । बुधबारै भएको दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशलाई ४–० ले नै पराजित गर्दै फाइनलमा ठाउँ बनाएको हो । समूह चरणमा भारतले माल्दिभ्सलाई ६–० ले र श्रीलंकालाई ५–० ले हराएको थियो । नेपाल र भारतबीच चौथोपटक उपाधि भिडन्त हुन लागेको हो । तीनैपटक भारतले नेपाललाई हराएको छ । गत संस्करणमा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो ।

जारी भिडन्तमा नेपालले तीन खेलमा १० तथा भारतले १५ गोल गरेको छ । दुवै टिमले गोल खाएका छैनन् । गत महिना भारतमा भएको हिरो गोल्डकप फुटबलमा नेपालले भारतलाई २–१ ले हराएकाले फाइनल भिडन्त रोचक हुने अनुमान गरिएको छ ।

सम्बन्धित खवर