पाँचौ महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत साविक विजेता भारत अन्तिम खेलमा श्रीलंकामाथि ५–० को जित दर्ता गर्दै समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहिद रंगशालामा भारतले पहिलो हाफमा नै ४ गोल गरेको थियो । खेलको तेस्रो मिनेटमै भारतकी सन्ध्याको बक्सबाहिरको प्रहार क्रसबारमा लागेर फर्किएको बललाई अनमार्क रहेकी ग्रेसले सहजै गोल गरिन् ।
सातौं मिनेटमा सन्जु यादवको पासमा सन्ध्या रंगनाथनले गोल गर्दै अग्रता दोब्बर पारिन् । ३६औं मिनेटमा इन्दुमतिले गोल गर्दै भारतलाई पहिलो हाफमा ३–० को अग्रता दिलाईन् । ४५औं मिनेटमा संगिता वासफोरेले पेनाल्टीमा गोल गरेपछि भारत पहिलो हाफमा ४–० ले अगाडी बढ्यो । दोस्रो हाफमा ४७ औं मिनेटमा रतनबाला देवीले ग्रेसको पासमा बक्सभित्रबाट गरेको प्रहार सिधै गोल भएको थियो । त्यसपछि भारतले उल्लेख मुभ बनाउन नसक्दा थप गोल हुन सकेन । भारत समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको भारतले फाइनल प्रवेश रका लागि बंगलादेशको सामना गर्नेछ । पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले हराएको थियो ।
यसअघि नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ३–० र दोस्रोमा बंगलादेशलाई ३–० ले नै पराजित गरेको थियो । बंगलादेशले पहिलो खेलमा भुटानलाई २–० ले पराजित गरेपछि समूह उपविजेता बन्न सफल रह्यो । बुधबार हुने पहिलो सेमिफाइनलमा नेपाल र श्रीलंका विहान ११ बजे खेल्नेछन् । दोस्रो सेमिफाइनल ३ बजे भारत र बंगलादेशबीच हुनेछ ।