आयोजक नेपाल पाँचौ साफ महिला च्याम्पियनसिपको समूह ‘ए’ विजेता बनेको छ । समूह ‘ए’ को अन्तिम खेलमा यसअघि नै सेमिफाइनलमा पुगिसकेको नेपालले बंगलादेशलाई ३–० ले पराजित गर्दै समूह विजेता बनेको हो । हारले पनि बंगलादेश समूह उपविजेता बन्यो । अब नेपालले सेमिफाइनलमा भारत र श्रीलंकाबीचको उपविजेतासँग खेल्नेछ । भारत र श्रीलंकाबीचको खेल आइतबार हुनेछ । दुवै टोलीले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।
विराटनगरस्थित सहिद रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले सावित्रा भण्डारी र मन्जली कुमारी योन्जनको गोलबाट पहिलो हाफमा ३–० को अग्रता बनाएको थियो । एक गोल भने नेपालले उपहार पाएको थियो । खेलको सुरुवातबाटै नेपालले आक्रमक खेल पस्केको थियो । खेलको छैटौं मिनेटमा सावित्रा भण्डारीले वान भर्सेस वानको अवस्थामा गोल गर्न चुकेपनि सोही मिनेटमा नेपालले आत्मघाती गोलबाट अग्रता बनायो । कप्तान निरु थापाको चलाखीपुर्ण पासमा सावित्राले गोलरक्षकलाई बिट गरेपनि गोल गर्न सकेकी थिइनन् ।
सोही समयमा अनिता बस्नेतको क्रसमा मसुरा प्रभिनले हेडमार्फत बचाउन खोजेपनि गोल हुन पुगेको थियो । १०औं मिनेटमा कप्तान निरु थापा पनि वान भर्सेस वानमा चुकिन् । उनको फितलो चिप प्रहार पहिलो बारबाट थोरै बाहिरियो । १५औं मिनेटमा मन्जली कुमारी योन्जको पेनाल्टी एरियाभित्रको प्रहारलाई बंगलादेशकी गोलरक्षक रुपना चक्नाले मुस्किलले बचाइन् । १७औं मिनेटमा सावित्रा भण्डारीको हेडर पोस्टबाट थोरै बाहिरियो । लगतार दुई सुन्दर मौका खेर फालेको सावित्राले २३औं मिनेटमा गोल गरेपछि नेपालले खेलमा २–० को अग्रता बनाइन् । उनले डिफेन्डरबाट बल खोस्दै गरेको प्रहार दोस्रो नजिकबाट गोल भएको थियो ।
२८औं मिनेटमा मन्जली कुमारी योन्जनले गोल गर्दै नेपाललाई पहिलो हाफमा ३–० को अग्रता दिलाइन् । सावित्राले बक्सभित्र उपलब्ध गराएको पासलाई मन्जलीले वान टचमै गोल गर्न सफल भएकी थिइन् । बंगलादेशले भने नेपालको पोस्टमा गतिलो अक्रमण बुन्न सकेन । दोस्रो हाफमा पनि नेपालले बंगलादेशमाथि दवाव सिर्जना गरेपनि थप गोल गर्न सकेन । ५८औं मिनेटमा सावित्रा भण्डारीको शक्तिशाली प्रहारलाई ससमासुरा परभिनले बचाइदिए । ६४औं मिनेटमा सावित्राको प्रहारलाई मसुराले त्यसरी नै बचाइदिए । त्यसपछि थप गोल हुन नसक्दा नेपाल ३–० विजयी हुन सफल भयो ।