भारतमा कोरोना भाइरस सङ्क्रमणको अवस्था भयावह बन्दै

भारतमा कोरोना भाइरस सङ्क्रमणको अवस्था भयावह बन्दै

नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण फैलावटको अवस्था भयावह बनेर गएको छ ।

दैनिक थपिने नयाँ सङ्क्रमितले अवस्था निक्कै भयावह र जटिल बनिरहेको पुष्टि गर्छ । केही दिनयता भारतमा कोरोना सङ्क्रमित व्यापक रुपमा बढिरहेका छन् । नेपालमा कोरोना सङ्क्रमण भारतबाटै भित्रिएको आशङ्का छ । पछिल्लो २४ घण्टामा एक लाख १५ हजार दुई सय ६९ जना नयाँ सङ्क्रमित थपिए । भारतमा एकै दिन भेटिएको यो सङ्ख्या अहिलेसम्मकै उच्च हो ।

भारतमा अहिलेसम्म एक करोड २७ लाख ९९ हजार सात सय ४६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये एक करोड १७ लाख ८९ हजार सात सय ५९ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै घर फर्किएका छन् । आठ लाख ४३ हजार सात सय ७९ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्थ चिन्ताजनक छ ।

एकै दिन भारतमा छ सय ३१ सङ्क्रमितले ज्यान गुमाए । कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या पनि पछिल्लो समय बढिरहेको छ । अहिलेसम्म भारतमा एक लाख ६६ हजार दुई सय आठ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको ब्राजिलमा एकै दिन ८२ हजार आठ सय ६९ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ३१ लाख छ हजार ५८ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड १५ लाख ५८ हजार सात सय ८४ जना उपचारपछि निको भएका छन् । १२ लाख नौ हजार नौ सय १० जनाको उपचार जारी छ ।

उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा चार हजार दुई सय ११ सङ्क्रमितले ज्यान गुमाए । यो सङ्ख्या ब्राजिलमा यसअघि एकै दिनमा मृत्यु हुने सङ्क्रमितको भन्दा निक्कै बढी हो । ब्राजिलमा अहिलेसम्म कोरोनाका कारण तीन लाख ३७ हजार तीन सय ६४ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण अहिलेसम्म निक्कै प्रभावित बनेको अमेरिकामा एकै दिन ६१ हजार ४४ नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड १५ लाख ५९ हजार एक सय ६९ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ४२ लाख २० हजार छ सय ४७ जना उपचारपछि निको भएका छन् ।

६८ लाख ६८ हजार दुई सय ८० जनाको उपचार जारी छ । उपचारतमध्ये आठ हजार नौ सय ६२ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा अमेरिकामा आठ सय ८८ सङ्क्रमितले ज्यान गुमाए । अहिलेसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पाँच लाख ७० हजार दुई सय ४२ पुगेको छ ।

विश्वमा एकै दिन पाँच लाख ६६ हजार नौ सय तीन जना नयाँ सङ्क्रमित थपिए । अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १३ करोड ३० लाख एक हजार छ सय ७१ पुगेको छ । सङ्क्रमितमध्ये १० करोड ७२ लाख ४७ हजार छ सय ९८ जना उपचारपछि निको भएका छन् ।

दुई करोड २८ लाख ६८ हजार आठ सय २६ जनाको उपचार जारी रहेकोमा ९९ हजार दुई सय ३२ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टाभित्र विश्वमा ११ हजार छ सय ४७ जना सङ्क्रमितको ज्यान गयो । यो सङ्ख्या केही दिनयताकै उच्च हो । विश्वमा २८ लाख ८५ हजार एक सय ४७ सङ्क्रमितको मृत्यु भइसकेको छ ।

सम्बन्धित खवर