सावधानी अपनाएर होली मनाउन राष्ट्रपति भण्डारीको आग्रह

सावधानी अपनाएर होली मनाउन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाबाट बच्न स्वास्थ्य सावधानीका उपाय अपनाएर होली मनाउन आह्वान गर्नुभएको छ । अहिले पनि कोरोना भाइरस (कोभिड–१९) महामारी टरिनसकेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीका उपाय अवलम्बन गर्न आग्रह गर्नुभएको हो । होली पर्वको शुभकामना दिदै उहाँले यसले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरू बीच आपसी सद्भाव¸ सहिष्णुता¸आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिगरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पु¥याउने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

साथै यसै पर्वका अवसरमा राष्ट्रपति भण्डारीले सुसंस्कृत र न्यायपूर्ण समाज निर्माणको कामना समेत गर्नुभएको छ । होली पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति¸कुरीति एवं कुपरम्पराहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य¸सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र संवर्द्धन गर्न उत्प्रेरित गरिरहोस् भन्ने कामना गरेको शुभकामना सन्देशमा उल्लेख छ । यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि शुभकामना सन्देश जारी गर्दै होली पर्वले नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खवर