रतुवामाईमा साहस नेपालको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न

रतुवामाईमा साहस नेपालको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न

 

इटहरा : सामुदायिक हातहरुको समूह(साहास) नेपाल रतुवामाई-९ को आयोजना तथा एड्भान्स अस्पताल दमकको प्राविधिक सहयोगमा आज ( शनिबार) मोरङको रतुवामाई नगरपालीकामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

रतुवामाई नगरपालीका वडा नम्बर ९ भौडाहामा भएको स्वास्थ्य शिविरमा स्थानिय ३ सय नागरिकलाई सेवा प्रदान गरिएको एडभान्स अस्पतालका सञ्चालक चैतन्य बरालले जानकारी दिनुभयो ।

शिविरमा अस्पतालका बाल रोग विशेषज्ञ डा. अनिल थापा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. अनुप पोखरेल, फिजिसियन तथा मुटुरोग बिशेषज्ञ डा. निमा शेर्पा, सर्जन डा. रविनरत्न रञ्जितकार, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. गरिमा भण्डारी लगायतका चिकित्सकले स्वास्थ्य जाँच गर्नु भएको थियो ।

सामुदायिक हातहरुको समुह(साहास) नेपालको स्थानीय व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा भिडियो एक्सरे तथा सुगर जाँच समेत गरिएको थियो । त्यसैगरी औषधि समेत निशुल्क वितरण गरिएको साहास नेपालका सदस्य तथा कार्यक्रम ब्यवस्थापक मनोज बराल (मिलन) ले जानकारी दिनुभयो ।

सामुहिक हातहरुको समुहका अध्यक्ष धनप्रसाद दाहालको अध्यक्षतामा भएको स्वास्थ्य शिविरमा अस्पतालका सञ्चालन तथा दमक क्याम्पसका पुर्व प्रमुख उत्तमप्रसाद भट्टराई प्रमुख अतिथि रहनुभएको थियो । ग्रामिण क्षेत्रका नागरिकहरुको घरमै पुगेर विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्न स्वास्थ्य शिविरको आयोजना गरिएको प्रमुख अतिथि तथा अस्पतालका सञ्चालक भट्टराईले बताउनुभयो ।

करिब २८ वर्ष अघि बिधिवत रुपमा स्थापना भइ समाजमा आइपर्ने हरेक क्रियाकलाप , फोहरमैला ब्यवस्थापन, वृक्षारोपण, तालिम तथा जनचेतना अभिवृद्धि जस्ता प्रत्यक्ष जन-सरोकारका बिषयहरुमा काम गर्दै आइरहेको साहास नेपालले जनस्वास्थ्य क्षेत्रमा समेत काम गर्ने अवसर पाउँदा गौरवान्वित महसुस भएको संस्थाका अध्यक्ष धनप्रसाद दहालले बताउनुभयो ।

सम्बन्धित खवर