कोलकात्तामाथि बेङ्गलोरको सानदार जित

कोलकात्तामाथि बेङ्गलोरको सानदार जित

काठमाडाैं : १३औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेङ्गलोरले फराकिलो अन्तरले विजयी भएको छ । सोमबार सम्पन्न खेलमा बेङ्गलोरले कोलकात्ता नाइट राइडर्सलाई ८२ रनले पराजित गरेको हो ।

१ सय ९५ रनको लक्ष्य पच्छाएको कोलकात्ताले १ सय १२ रन मात्र बनाउन सक्यो । कोलकात्ताका लागि सुभमन गिलले ३४ तथा अन्द्र रसेल र राहुल त्रिपाठीले समान १६/१६ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेन ।

कोलकात्तालाई सस्तैमा रोक्ने क्रममा बेङ्गलोरका क्रिस मोरिस र वासिङ्टन सुन्दरले समान दुई-दुई तथा नभदीवप शैनी, मोहम्मद सिराज, युजवेन्द्र चाहल र इरुसु उदनाले १-१ विकेट लिए ।

यसअघि, शारजाह क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो ।

पहिलो विकेटका लागि आरोन फिन्चसँग ६७ रनको अर्धशतकीय साझेदारी गरेका देवदत्त पाडिक्कल पहिलो विकेटका रुपमा आउट भए । उनले २३ बलमा १ छक्का र ४ चौकाको सहयोगमा ३२ रन बनाएका थिए । यस्तै फिन्च पनि ४७ रनको बनाउँदै प्रसिद्ध कृष्णको बलमा बोल्ड आउट भए ।

यसैगरी, विराट कोहली र एबी डि भिलियर्सले ३३ र ७३ रनको नटआउट पारी खेले । तेस्रो विकेटका लागि कप्तान कोलहीसँग १ सय रनको साझेदारी गरेका एबी डि भिलियर्सले आक्रामक पारी खेले । उनले ३३ बलमा ६ छक्का र पाँच चौकाको मद्धतमा ७३ रनको अर्धशतकीय पारी खेले ।

कोलकात्ताका प्रसिद्ध कृष्ण र आन्द्रे रसेलले समान एक-एक विकेट लिए ।

काेलकात्तामाथिकाे जितसँगै बेङ्गलाेरले सात खेलबाट १० अंक जाेड्दै तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । पराजित काेलकात्ता भने एक स्थान तल झर्दै चाैथाे स्थानमा पुगेकाे छ । समान १० अंक भएपनि रनरेटकाे आधारमा तालिकाकाे शीर्ष स्थानमा मुम्बइ इन्डियन्स रहेकाे छ । दाेस्राे स्थानमा दिल्ली क्यापिटल्स रहेकाे छ भने सनराइजर्स हैदराबाद, राजस्थान राेयल्स, चेन्नइ सुपर किङ्स र किङ्स इलावेन पञ्जाव क्रमशः पाँचाैँ, छैटाैँ, साताैँ र आठाैँ स्थानमा रहेका छन् ।

सम्बन्धित खवर