प्रहरी जवानकै कोठाबाट एक किलो सुन बरामद

प्रहरी जवानकै कोठाबाट एक किलो सुन बरामद

काठमाडौंमा थप एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ । साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका क्रममा थप एक किलो धातु बरामद भएको हो । बरामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र भन्ने परीक्षण हुन बाँकी छ ।

दरबारमार्ग प्रहरीका तत्कालीन डीएसपी रञ्जनकुमार दाहाललाई गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने धातु बरामद भएको प्रहरी उच्च स्रोतले बताएको छ ।

प्रहरीले मंगलबार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद गरेको पत्रकार सम्मेलन गरेर बताएको थियो तर, परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको पुष्टि भएको थियो । प्रकरणमा दरबारमार्ग प्रहरी प्रमुख डीएसपी दाहालको अपरेशनल नेतृत्व कमजोर देखिएको भन्दै उनलाई जिम्मेवारीबाट हटाइएको छ । उनी हाल प्रहरी एकडेमीमा काज सरुवा गरिएका छन् ।

दाहाललाई प्रहरी जवान बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठले गुमराहमा राखेको पाइएको एसएसपी शुशीलकुमार यादव नेतृत्वको छानविन समितिले जनाएको छ । प्रकरणमा यसअघि देवान पटेल, विजय पटेल र निलेश पटेल पूर्वी नवलपरासीबाट पक्राउ परेका छन् ।

सम्बन्धित खवर