अलपत्र परेका ३४ हजार नेपालीको उद्धार

अलपत्र परेका ३४ हजार नेपालीको उद्धार

यस हप्तासम्म ३४ हजार ८३० नेपालीको उद्धार गरिएको छ । सङ्घ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा विभिन्न २५ मुलुकमा कोरोना भाइरसको सङ्क्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो ।

यद्यपि यही साउन ८ गते बिहीबारबाट नेपाल सरकारले तत्कालका लागि उद्धार उडान स्थगन गरेको छ । आगामी भदौ १ गतेबाट पुनः नियमित उडान हुनेछ । यस्तै मलेशिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरियालगायतका देशबाट यस हप्तासम्म २१६ शव नेपाल पु¥याइ परिवारलाई बुझाइएको छ । विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४७४ मध्ये १६५ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै ९४ शव नेपाल ल्याउन बाँकी छ ।

यसैबीच एनआरएनएको कोभिड–१९ उच्चस्तरीय समितिको बैठक शनिबार सम्पन्न भएको छ । एनआरएनएका अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ शुरु भएदेखि समितिले गरेका गतिविधिको समीक्षा गर्नुका साथै आगामी रणनीति तय गरेको छ । उहाँले कोरोना भाइरसको महामारीमा विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । उहाँले विदेशमा रहेका नेपाली समुदायले व्यहोर्नुपरेको अप्ठ्यारो र संवेदनशील यस घडीमा मल्हम लगाउने काम भइरहेको जनाउँदै यस कार्यलाई निरन्तरता दिनसमेत आग्रह गर्नुभयो ।

बैठकमा महासचिव डा. हेमराज शर्माले कोरोना भाइरसको महामारीमा ५० देशमा दुई हजार १०० स्वयंसेवक खटिरहेको जानकारी दिनुभयो । उहाँले सङ्घका विभिन्न देशमा स्थापना गरिएका कल सेन्टरमार्फत ८१ हजारभन्दा बढीले परामर्श लिएको बताउनुभयो । बैठकमा स्वास्थ्य समितिका संयोजक डा सापकोटाले गैरआवासीय नेपालीमा कोरोना प्रभावबाट बच्न र बचाउनका लागि भइरहेका प्रयास र जोखिम बढ्दै गएको पछिल्लो समयमा अपनाउनुपर्ने सावधानीका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा बोल्ने वक्ताहरुले कोरोना भाइरसको जोखिम अझै बढेकाले ढुक्क भएर बस्न नहुने र आफूले सावधानी अपनाए मात्रै अरुलाई पनि सङ्क्रमणबाट जोगाउन सकिन्छ भन्ने भावना मनन गर्नुपर्नेमा जोड दिनुभएको थियो । बैठकमा सहभागीहरुले नेपालमा फर्किकाहरुलाई सरकारले होम क्वारेन्टिनमा राख्दा समुदायमा कोरोना फैलिन सक्ने जोखिम अझै बढेको र आवश्यक सावधानी अपनाउन उनीलाई सचेत बनाउनुपर्नेमा बताउनुभएको थियो ।रासस

सम्बन्धित खवर