एउटा सञ्चार संस्था र एकजना पत्रकार पुरस्कृत

एउटा सञ्चार संस्था र एकजना पत्रकार पुरस्कृत

पथरी : मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले आफ्नो नगरको सञ्चार क्षेत्रको प्रवद्र्धन कार्यक्रम अन्तर्गत एउटा सञ्चार संस्था र एकजना पत्रकारलाई उत्कृष्ठ पुरस्कार प्रदान गरेको छ ।

०६४ सालदेखि प्रकाशित अनमोलमणिलाई नगद २५ हजार सहित ‘उत्कृष्ठ सञ्चार माध्यम पुरस्कार २०७७’ प्रदान गरिएको छ ।

त्यस्तै, ०६५ सालदेखि पत्रकारितामा क्रियाशील दिनेश सुब्बालाई १५ हजार नगद सहित ‘उत्कृष्ठ पत्रकार पुरस्कार २०७७’ प्रदान गरिएको छ । नगरलाई मुख्य कार्यथलो बनाएको सञ्चार संस्था र पत्रकारलाई पुरस्कृत गर्ने नगरको कार्यविधि अनुरुप पुरस्कार वितरण गरिएको हो ।

प्रदेश १ का सांसद कृष्णकुमारी राईको प्रमुख आतिथ्यतामा नगर उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, उपसचिव शालिग्राम काफ्ले सहितले अनमोलमणिका प्रकाशक सन्तोष राई र ब्लाष्ट टाइम्सका पत्रकार दिनेश सुब्बालाई नगद सहित प्रशंसापत्र प्रदान गर्नुभयो ।

नगरपालिकाको सहयोग र मिडिया प्रवद्र्धन समितिको समन्वयमा प्रदेश भिजन प्रालिले पुरस्कार वितरण सहित ‘पत्रकार आचारसंहिता, नयाँ प्रविधिको विकास र त्यसको प्रयोग सम्बन्धी १ दिने तालिम तथा लेखनबृत्ती र पुरस्कार वितरण कार्यक्रम’ आयोजना गरेको हो ।

कार्यक्रममा, बोल्दै प्रदेश सांसद कृष्णकुमारी राई, नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगरका २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईंले यथार्थ समाचार सम्प्रेण गरी नगरको समग्र विकासका लागि पत्रकारहरुको झनै महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । नगर उपप्रमुख वास्तोलाले पत्रकार प्रोत्साहनका लागि नगरले थप योजना बनाउने समेत बताउनु भयो ।

२ चरणको सो कार्यक्रममा पत्रकार एवम् लेखनबृत्ती, सम्मान तथा पुरस्कार छनौट समितिका सदस्य अर्जुन जम्नेली राईले पत्रकार आचारसंहिता र पुरस्कार छनौट प्रक्रिया र अशोक खनालले पत्रकारितामा नयाँ प्रविधिको विकास र त्यसको प्रयोगका बारेमा सहजिकरण गर्नुभयो । प्रदेश भिजन प्रालिका प्रवन्ध निर्देशक भिमराज अधिकारीको सभापतित्वमा सम्पन्न पुरस्कार वितरण कार्यक्रममा पुरस्कृततर्फका राई र सुब्बाले मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रम अन्तर्गत पथरी शनिश्चरे मुख्य कार्य क्षेत्र भएका ९ जना सञ्चारकर्मीलाई लेखनबृत्ती समेत प्रदान गरिएको छ ।

सम्बन्धित खवर