भोली फागुन १५, अर्थात रविन्द्र अधिकारीको स्मृति दिवस

भोली फागुन १५, अर्थात रविन्द्र अधिकारीको स्मृति दिवस

रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले दिवंगत रवीन्द्र अधिकारीको प्रथम स्मृति दिवस बिहीबार विविध कार्यक्रम गरी मनाउने भएको छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा नेकपाका युवा नेता अधिकारीको गत वर्ष फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना परी निधन भएको थियो । प्रतिष्ठानका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले प्रथम स्मृति दिवसमा स्मृति सभा तथा निबन्ध प्रतियोगिताका विजेता विद्यार्थीलाई पुुरस्कार वितरण गरिने जानकारी दिइन् । निबन्ध प्रतियोगितामा भरका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीले नेपाली राजनीति, युवा र रवीन्द्र अधिकारी शीर्षकमा निबन्ध लेखेका थिए ।

पोखरा सभागृहमा फागुन १५ गते हुने स्मृति सभामा प्रधानमन्त्री केपी शर्मा ओली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

अध्यक्ष भट्टराईले फागुन १५ गते बिहान पोखरा १८ सराङकोटस्थित सहिद तथा राष्ट्रिय विभूति पार्कमा निर्माण गरिएको रवीन्द्र अधिकारीको पूर्ण कदको सालिक अनावरण गरिने उल्लेख गरिन् । ‘नेता रवीन्द्र अधिकारीले गर्नु भएका सकारात्मक र अविस्मरणीय कार्यलाई स्मरण गरी उहाँलाई चिरस्थायी बनाउन प्रतिष्ठान क्रियाशील छ,’ अध्यक्ष भट्टराईले भनिन्, ‘प्रथम स्मृति दिवसमा रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरिनेछ ।’

गत फागुन १० गते कलाकारले क्यानभासमा रवीन्द्र अधिकारीलाई उतारेको चित्राकृति पोखरा सभागृहमा प्रदर्शन गरिने रवीन्द्र स्मृति प्रतिष्ठानका महासचिव धनराज आचार्यले बताए । महासचिव आचार्यले प्रथम स्मृति दिवस अन्तर्गत फागुन १६ गते समाज रुपान्तरणमा रवीन्द्र अधिकारी विषयक कार्यशाला गरिने जानकारी दिए । ‘रवीन्द्र अधिकारीको परिवार, इष्टमित्र, नजिकका साथीभाइ र सम्बन्धित पार्टीको प्रतिनिधित्व हुने गरी खोलिएको प्रतिष्ठान सबैको साझा संस्था हो,’ महासचिव आचार्यले भने, ‘प्रतिष्ठानले राजनीतिभन्दा माथि उठेर विशुद्ध रुपमा सामाजिक काम गर्नेछ ।’ महासचिव आचार्यले स्मृति सभाका १ वर्षभित्रमा पूरा गर्ने गरी १ करोडको अक्षयकोष घोषणा गर्ने बताए । उनले कोषबाट छात्रवृत्ति र खोज अनुसन्धानमा लागेकालाई पुरस्कृत गरिने उल्लेख गरे ।

प्रतिष्ठानले रवीन्द्र स्मृति ग्रन्थ प्रकाशन गर्न लागेको उनले बताए । कार्यक्रममा रवीन्द्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष तथा गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली लगायतले बोलेका थिए । रवीन्द्र स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यालय पोखरामा र सम्पर्क कार्यालय काठमाडौंमा खोलिएको छ । महासचिव आचार्यले प्रतिष्ठानको विधान अनुसार प्रदेश समिति विस्तार गर्ने योजना सुनाए ।

सम्बन्धित खवर