स्थानीय स्तरमा पथरी करदाता सेवा कार्यालयको प्रभावकारिता बढ्यो

स्थानीय स्तरमा पथरी करदाता सेवा कार्यालयको प्रभावकारिता बढ्यो

राष्ट्रिय राजस्व सङ्कलनको औसतभन्दा २२ प्रतिशत बढी उठाउँदै

केशव निरौला, पथरी

‘तपाईँको अघिल्लो पान साझेदारी फर्मको रहेछ, व्यक्तिगत बनाउन नगरपालिकाबाट दर्ता गरेर ल्याउँदा भइहाल्छ नि !’ भनिसक्दा सेवाग्राही श्रीखन्‍न देउजाले स्पष्ट बुझेर ‘हुन्छ’ भन्ने अभिव्यक्ति दिनुभयो । अर्का सेवाग्राहीले पनि पहिले गाउँ विकास समिति हुँदा दर्ता गरेको प्रमाणपत्र ल्याउने बित्तिकै करदाता सेवा कार्यालय पथरी (मोरङ) का कर अधिकृत भनिष भट्टराईले भन्नुभयो– ‘लु तपाईँको काम भइहाल्यो ।’ बुधबार (हिजो) यी प्रतिनिधि सेवाग्राही र करदाता सेवा कार्यालयका कर अधिकृत भट्टराईको वार्तालापमा अत्यन्त सरल र सहज तरिकाबाट कार्यसम्पादन भइरहेको तथ्य प्रस्टिन्थ्यो ।

कुनै विषयमा थप जानकारी लिनुपर्‍यो भने मोबाइल नम्बर समेत दिँदै सूचना अधिकारी शेखर ओलीले आवश्यक परामर्श दिँदै हुनुहुन्थ्यो । विगतमा दर्ता भएर आयकर दाखिला नगरेका करदातालाई आयकर ऐन २०८१ ले विशेष छुट दिएको सूचना पनि भन्न भ्याउनुहुने सूचना अधिकारीको भनाइ सेवाग्राहीले पटकपटक सुन्दै थिए ।

कार्यालयका कर अधिकृत, सूचना अधिकारीसँगै सम्पूर्ण कर्मचारीको सौहार्दपूर्ण व्यवहारले ग्रामीण क्षेत्रमा रहेको पथरी कर सेवा कार्यालयको कार्यसम्पादनमा प्रभावकारिता बढेको सेवाग्राहीको भनाइ छ । धेरै भिडभाड पनि नहुने र समयमै सहज तरिकाबाट कार्यसम्पादन हुने परिपाटीले सेवाग्राही बढी लाभान्वित बन्ने गरेका छन् । परिणामतः देशभरका ८४ ओटा कर सेवासम्बद्ध कार्यालयको आव २०८०/०८१मा सङ्कलन गर्न सफल भएको औसत राजस्वभन्दा यस कार्यालयले बढी सङ्कलन गर्न सफल भएको छ । यस सम्बन्धमा कर अधिकृत भट्टराईले भन्नुभयो– ‘गत आर्थिक वर्षमा राष्ट्रिय राजस्व ७६ प्रतिशत सङ्कलन हुँदा हामीले ९८ प्रतिशत सङ्कलन गरेका हौँ । यसमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ लक्ष्यको १ सय १५ प्रतिशत सङ्कलन भएको छ ।’ आर्थिक सङ्कटसँगै व्यापारिक कारोबारको दयनीय स्थितिमा पनि गत वर्षको ३३ करोड ५८ लाख ७७ हजार ३ सय २० रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा कार्यालयले ९८ प्रतिशत राजस्व सङ्कलन सफल भएको हो । जुन राष्ट्रिय लक्ष्यअनुसारको औसतभन्दा २२ प्रतिशत बढी हो ।

कार्यालयले सबैलाई करसम्बन्धी सचेतना जगाई स्वतःस्फूर्त रूपमा समयमै कर दाखिला गराउन जागरूक गर्ने उद्देश्यले बर्सेनि करदाता लक्षित कार्यक्रम गर्दै आएको छ । यस कार्यालयले आफ्नो सेवा क्षेत्रमा पर्ने पथरीशनिश्चरे नगरपालिका, लेटाङ नगरपालिका, उर्लाबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र मिक्लाजुङ गाउँपालिकामा गत वर्ष ८ ओटा कार्यक्रम गर्न सफल भएको हो । विशेषतः उद्योग वाणिज्य सङ्घ र पालिकासँगको समन्वयमा हुने यस्ता कार्यक्रमबाट करदाता बढी लाभान्वित भइरहेकाले यस वर्ष ९ ओटा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको कर अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

कार्यालयले राम्रो सेवा प्रवाह गरिरहेको बताउँदै यसको स्तरोन्तति गरिनुपर्ने राय पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेतको छ । अध्यक्ष बस्नेतले भन्नुभयो– ‘अब करदाता सेवा कार्यालयलाई स्वास्थ्य सेवा कर र शिक्षा सेवा शुल्कसहितको सबै राजस्वसम्बन्धी कार्य गर्ने गरी आन्तरिक राजस्व कार्यालयमा स्तरोन्नति गर्न आवश्यक प्रयास भइरहेको छ ।’

मोरङको पथरीजस्तो सहरोन्मुख ग्रामीण क्षेत्रमा विस्तार भएको करदाता सेवा कार्यालयको यो सेवाप्रवाह शैली अरूका लागि पनि उदाहरणीय बन्न सक्दछ ।

सम्बन्धित खवर