पथरी, इलाका प्रहरी कार्यालय पथरीले बिसाक्त माछालाई नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
मृतकको लाश नकुहिने केमिकल “फर्मालिन” प्रयोग गरेर लुकाई छिपाई भारतबाट ल्याएको १ सय १३ केजी माछा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको हो । फर्मालिन मानव स्वास्थ्यका लागि हानिकारक छ । यसको प्रयोगले मानिसमा क्यासर रोग लाग्ने, बाँझोपन हुने, मृगौलामा समस्या हुने जस्ता रोग लाग्न सक्छन् । साथै सोही क्रममा मागुर (मुंग्री) माछा पनि नियन्त्रणमा लिएर नष्ट गरिएको छ । यो माछामा “मर्करी” नामक रसायनिक तत्त्व पाइन्छ । मर्करीले मानिसमा क्यानसर रोग लाग्ने खतरा रहेको पथरी शनिश्चरे नगरका पशुपंक्षी विकास शाखाका जनक चौधरीले जानकारी दिए । यसै कारण नेपाल सरकारले २०७९ सालदेखि नै नेपालमा मुंग्री माछा बेचबिखनमा प्रतिबन्ध लगाएको छ ।
माछा नष्ट गर्ने क्रममा पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को वडा अध्यक्ष भिमकुमार राई, पथरी उद्योग बाणिज्य संघको अध्यक्ष दिपक बस्नेत, पथरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जयराम बिष्ट, शान्ति सामुदायिक वन उपभोक्ता, समुहका अध्यक्ष कुलमणि गुरुङ रोहबरमा उपस्थित थिए । नियन्त्रित माछालाई खाडीमा पुरेर नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएस्पी मोहन विक्रम दाहालका अनुसार पथरी बजारमा माछाको ब्यापार गरिरहेका सम्पूर्ण ब्यापारीहरुलाई बोलाएर फर्मालिन प्रयोग भएको माछा नबेच्न समेत सूचना गरिएको छ । यदि अटेर गरेमा कानुन अनुसार कार्वाही गरिने दाहालले बताउनुभयो ।