पथरी, इलाका प्रहरी कार्यालय पथरीको कमाण्ड समाल्नका लागि प्रहरी नायव उपरीक्षक मोहन विक्रम दाहाल आउनुभएको छ ।
दाहाल पथरी आएसँगै विभिन्न पक्षसँग बसेर पथरीशनिश्चरेको सुरक्षाका विषयमा छलफल सुरु भएको छ । सोही अनुसार विहिबार पथरीशनिश्चरेका पत्रकारहरूसँग छलफल तथा परिचय कार्यक्रम राखिएको थियो ।
छलफलका क्रममा नगरलाई कसरी सुरक्षित बनाउने, नगरको हालको अवस्था कस्तो छ, वर्तमान मुख्य समस्या र चुनौती के के छन् ? लगायतका विषयमा छलफल भयो । नगरमा रहेका करिब डेढ दर्जन सिसि क्यामेरा मध्ये हाल ३ वटा काम गर्ने अवस्थामा रहेको पाइएको छ । एसियन हाइवे निर्माण, पुरानो भएकाले मर्मत नहुनु, चट्याङका कारण बिग्रिनु लगायत समस्या रहेको पाइएको छ ।
सिसि क्यामेरा नहुदा हिट एन्ड रनका घटनामा बढि समस्या हुने गरेको पाइएको छ । सरकारले बजेटको बिनियोजन गर्दा पनि कमसल क्वालीटिका लागि मात्रै पुग्नेगरी बिनियोजन गर्ने र छिटो बिग्रिने समस्या पनि देखिएको छ ।
सो छलफल कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय पथरी, बेलबारी र बिराटचौकका प्रमुहरूको समेत सहभागिता रहेको थियो । हाइवे क्षेत्रमा ट्राफिक व्यवस्थापन मजबुद बनाउने कुरामा समेत कार्यक्रममा छलफल भएको हो ।