पत्रकारिताको उन्नयनमा पथरी शनिश्चरे

पत्रकारिताको उन्नयनमा पथरी शनिश्चरे

केशव निरौला, पूर्वोत्तर मोरङको पथरीशनिश्चरे नगरपालिका पत्रकारिता क्षेत्रमा भिन्न पहिचान बनाउन अग्रसर पालिका मानिन्छ । यस पालिकामा विभिन्न ऐतिहासिक कालखण्डदेखि नै पत्रकारितासम्बद्ध भिन्न पहिचान स्थापित हुने गरी प्रभावकारी कामहरू भइरहेको छ । नगरको पत्रकारितामा साविकका तीनओटा गाविसको समष्टिगत सञ्चारसम्बद्ध कार्यविवरण समेटिन्छ । यिनमा साविक पथरी, शनिश्चरे र हसन्दह गाविस रहेका छन् ।

यहाँको पत्रकारिताको उठानबिन्दुको आधिकारिक र मानक तिथि यही हो भन्ने स्पष्टता पाउन सकिन्न । तर, पनि यस क्षेत्रमा पत्रकारिताको उठान चाहिँ छापा पत्रकारिताबाटै भएको कुरामा द्विविधा छैन । भित्तेपत्रिका, हवाईपत्रिका, साहित्यिक पत्रिका, साप्ताहिक पत्रिका तथा दैनिक पत्रिका सबैको प्रकाशन अनुभव यस नगरपालिकाले गरेको देखिन्छ । ‘इतिहासमा पथरी शनिश्चरे’ नामक पुस्तकमा उल्लेख भएअनुसार पथरीशनिश्चरेमा धरान, विराटनगरबाट प्रकाशित दैनिक पत्रिकाहरू २०५३÷५४ सालदेखि विक्रीवितरण हुने गरेको थियो । सोही पुस्तकका सङ्कलक/प्रकाशक एवम् पूर्वपत्रकार दीपेन्द्रराज तिम्सिनाका अनुसार त्यतिबेला विमला तुम्खेवा, सुमन राई, भूपेन्द्रराज तिम्सिना, भरत भट्टराई, नरेन्द्र राई आदिले विभिन्न पत्रिकामा रिपोर्टिङ गर्ने गथ्र्ये । अन्य धेरै पत्रकारले धरान, विराटनगर तथा काठमाडौँबाट प्रकाशन हुने विभिन्न पत्रिकाको व्यवस्थापक र संवाददाता दुवैको भूमिका निर्वाह गर्दै आएको पाइन्छ ।

२०५५ सालदेखि नरेन्द्र राईको अगुवाईमा सामूहिक रूपबाट प्रकाशन प्रारम्भ भएको ‘मोफसल’ साप्ताहिकले नेपाली छापा पत्रकारिताको इतिहासमै भिन्न पहिचान बनाउन सफल मानिन्छ । मोफसल प्रकाशन सहकारी संस्थाको नामबाट प्रकाशित यो पत्रिका पथरीबाट प्रकाशित प्रथम समाचारमूलक पत्रिकामात्र नभई साप्ताहिक पत्रिकामध्ये मोसफल (काठमाडौँबाहिर) बाट प्रकाशित पहिलो ‘क’ वर्गको पत्रिका पनि हो । यो मूलतः झापा, मोरङ र सुनसरीका ग्रामीण क्षेत्रमा अत्यधिक वितरण हुने पत्रिकामा दर्ज भएको थियो । ‘ग्रामीण पत्रकारिताको प्रयास’ भन्ने भिन्न पहिचानका साथ प्रकाशन हुने यस पत्रिकाले ग्रामीण जनजीवनमाझ ‘पत्रिकाकै पर्यायवाची मोफसल साप्ताहिक’को विशिष्ट पहिचान स्थापित गरेको थियो । यो साप्ताहिक पत्रिका निरन्तर १५ वर्षसम्म प्रत्येक आइतबार प्रकाशन भएको पाइन्छ ।

मोफसल साप्ताहिकपछि यस नगरबाट प्रकाशन हुने अर्को पत्रिका हो– अनमोलमणि साप्ताहिक । २०६४ सालदेखि प्रकाशन सुरु भएको यो पत्रिका अहिले पनि निरन्तर प्रकाशन भइरहेको छ । यसले पथरीशनिश्चरेबाट निरन्तर प्रकाशन भइरहेको पुरानो साप्ताहिक पत्रिकाको पहिचान स्थापित गरेको छ । मिलन के. राउतको सम्पादकत्त्वमा रहेको यो पत्रिकालाई पछिल्लो समय प्रकाशनको सम्पूर्ण अभिभारा लिई सन्तोष राईले सञ्चालन गरिरहेका छन् । सन्तोष राई नै प्रकाशक रहेर २०६९ सालदेखि अर्को पृथक् पहिचान बोकेको ‘क्रेजी डटकम’ साप्ताहिक प्रकाशन भइरहेको छ । यो मूलतः मनोरञ्जनमूलक समाचार पत्रिका हो, जुन मोसफलमा ‘विधा विशेष’ पत्रिकाको प्रकाशन गर्ने अग्रणीय कार्य मानिन्छ । २०६९ सालमै मोहन भट्टराईको प्रयासमा ‘कुरकुरे डटकम’ नामक पत्रिका दर्ता भई प्रकाशन सुरु भएकामा हाल उक्त पत्रिकाले नाम परिवर्तन गरी ‘जमर्को साप्ताहिक’ बनाएको पाइन्छ । नाम परिवर्तन गरी प्रकाशन भइरहेको नगरको पहिलो पत्रिका पनि जमर्को साप्ताहिकलाई मान्नुपर्दछ । २०७० सालदेखि विजय खम्बुको प्रकाशकत्वमा सुरु भएको ‘तिम्मा साप्ताहिक’ २०७८ सालदेखि भौतिक प्रकाशन बन्द गरी अनलाइन संस्करणमा मात्रै रूपान्तरण भएको छ । शिक्षा विधासँग सम्बन्धित गरेर लेखक स्वयम्ले २०७२ सालदेखि प्रकाशन सुरु गरेको ‘शैक्षिक संसार’ साप्ताहिक पत्रिका २०७८ सालबाटै प्रकाशन बन्द छ ।

यी विभिन्न पत्रपत्रिकामध्ये पनि यस नगरपालिकाबाट प्रकाशन सुरु भएका ‘क्रेजी डटकम’ र ‘शैक्षिक संसार’ मनोरञ्जन र शिक्षा विधा विशेष पत्रिकाका रूपमा भिन्न महत्त्वसाथ गणनायोग्य ठहरिन्छन् । यहीँबाट गोपाल विकको प्रकाशकत्व र भद्रमान विकको निर्देशनमा ‘जनसुधार साप्ताहिक’ र भरत भट्टराईको प्रकाशकत्व तथा पर्शुराम न्यौपानेको व्यवस्थापकीय भूमिकामा ‘क्रान्तिपुर साप्ताहिक’ पनि प्रकाशन भएको पाइन्छ । यस पालिकाअन्तर्गत तीनओटा दैनिक पत्रिका दर्ता भए पनि दुईओटाको चाहिँ प्रकाशित अङ्क नै भेटिन्छ । यिनमा पत्रकार अर्जुन जम्नेली राईको प्रकाशकत्वमा प्रकाशन सुरु भएको ‘पूर्वी कमान्ड दैनिक’ नगरकै पहिलो दैनिक पत्रिकामा दर्ज भएको छ । यो करिब २ महिना नियमित प्रकाशन भयो । यस्तै रामकुमारी राईको सम्पादकत्वमा ‘पथरी टाइम्स’ नामक दैनिक पत्रिका पनि प्रकाशन भएको पाइन्छ भने अमिर राईलगायतको सक्रियतामा ‘सिम्रिक हटलाइन’ नामक दैनिक पत्रिका दर्तारत छ ।

प्रकाशन मिडियामा मात्र नभई प्रसारण मिडियामा पनि पथरीशनिश्चरे नगरपालिकाको पृथक् पहिचान बनेको पाइन्छ । एउटै पालिकामा तीनओटा रेडियो स्टेसन हुनु यहाँको अर्को चिनारी हो । नगरमा २०६९ सालमा पहिलो एफएमको रूपमा स्थापित ‘सिम्रिक एफएम’ र २०७४ सालदेखि एकैपटक प्रसारण सुरु गरेका ‘पथरी एफएम’ तथा ‘रेडियो रिदम’को सञ्चारीय भूमिका उल्लेखनीय ठहर्छ । यी एफएमबाट पथरीशनिश्चरेको आवाज पूर्वी नेपालका विभिन्न भूखण्डमा लोकप्रियताका साथ सम्प्रेषण भएको पाइन्छ ।

२०७५ सालदेखि यो नगरपालिकामा औपचारिक रूपबाट अनलाइन पत्रकारिताको सुरुवात भएको पाइन्छ । प्रदेश भिजन प्रालिमार्फत भीमराज अधिकारीको सम्पादकत्वमा ‘प्रदेश दैनिक’ नामक अनलाइन सञ्चालनमा छ । मुलुक ७ प्रदेशसहितको सङ्घीयतामा गएसँगै अधिकारीले छापासँग समेत मेल खाने गरी प्रदेश दैनिक अनलाइन सुरु गरेको बताइन्छ । यस्तै अशोक खनाल सञ्चालक रहेर ‘पथरी अनलाइन’ सञ्चालन भएको पाइन्छ । २०७६ सालदेखि प्रबन्धक गोपाल काफ्लेले साइनो मिडिया प्रालिमार्फत ‘साइनो खबर डटकम’ सञ्चालन गरिरहेका छन् भने सोही वर्षदेखि मोहन भट्टराईकै अग्रसरतामा भुल्के मिडिया प्रालिमार्फत ‘पहिलो अनलाइन डटकम’ सञ्चालन भइरहेको छ । त्यस्तै फिपराज बेघाको प्रधान सम्पादकत्वमा २०७९ सालदेखि ‘सेवारो पोस्ट डटकम’ सञ्चालन भइरहेको छ । यसदेखि बाहेक यहीँका पत्रकारले अन्यत्र कार्यालय दर्ता गरेर तथा अनौपचारिक रूपबाट पनि विभिन्न डिजिटल अनलाइन पोर्टल एवम् युट्युब च्यानलहरू पनि सञ्चालन गरिरहेका छन् । यसरी पथरी शनिश्चरेको पत्रकारितामा पनि सबैभन्दा सुरुमा छापा पत्रकारिताले नै बिउ रोप्ने काम गरेको पाइन्छ । यसपछि क्रमशः रेडियो, टेलिभिजन हुँदै अनलाइन पत्रकारिताले नयाँ प्रविधिमार्फत विकासको गति लिइरहेको छ । मिडिया क्षेत्रमा एउटै व्यक्ति (मोहन भट्टराई)को प्रत्यक्ष अगुवाइमा प्रकाशन, प्रसारण र अनलाइन मिडिया (तत्कालीन कुरकुरे साप्ताहिक पत्रिका, पथरी एफएम र पहिलो अनलाइन पोर्टल) सञ्चालनको दृष्टान्त पनि यही नगर बनेको हो ।

सम्पूर्ण व्यावसायिक पत्रकारहरूको छाता संस्था मानिने नेपाल पत्रकार महासङ्घ मोरङमा सबैभन्दा पहिले विराटनगरबाहिर सहसचिव र उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्ष (मोहन भट्टराई) पनि यही पालिकाले प्राप्त गरेको छ । महासङ्घको सहसचिवमा सन्तोष राईले पनि नाम दर्ज गरिसकेका छन् भने पहिलेदेखि नै कार्यसमितिमा यहाँका धेरै पत्रकारले भूमिका निर्वाह गरिसकेका छन् । पूर्वोत्तर मोरङका पत्रकारहरूको साझा संस्था सञ्चार क्लब नेपाल, उर्लाबारीमा पनि यस नगरपालिकाबाट सचिव (भूमिप्रसाद पाठक) र उपाध्यक्ष (सन्तोष राई र लेखक स्वयम्) सम्मको भूमिका निर्वाह भइसकेको छ । सोही संस्थामा हाल कोषाध्यक्ष (ईश्वर दुलाल) सहित सल्लाहकार (अर्जुन जम्नेली राई र सन्तोष राई) को भूमिकामा नगरका सञ्चारकर्मी संलग्न छन् ।

गोरखापत्र संस्थानको ६२ औँ वार्षिकोत्सवको अवसरमा ‘दि राइजिङ नेपाल’ तर्फ उत्कृष्ट संवाददाताको रूपमा सम्मानित नायक पौडेलको स्थायी बसोबास पथरीशनिश्चरेको वडा नं. ४ मा हो । पत्रकारिताको दरिलो आधार खडा गरी शिक्षण/प्राध्यापन पेसामा संलग्न सोमनाथ निरौला, चेतन पौडेल, रोहिणी घिमिरे (रोहित पराई) लगायतको योगदान नगरको पत्रकारिताका लागि एउटा कोसेढुङ्गा सावित भएको छ । विभिन्न राष्ट्रिय स्तरका सञ्चारमाध्यममा पनि पत्रकारिता र साहित्यको विषयसन्दर्भलाई शीर्ष स्थानमा पु¥याइरहने यहीँका भूपेन्द्र तिम्सिनाको खोजमूलक लेखनले धेरैलाई प्रेरणा दिइरहेको हुन्छ । सूचना तथा प्रसारण विभागबाट ‘स्वतन्त्र पत्रकार’को परिचय प्राप्त पत्रकार (लेखक स्वयम्) सँगै अन्य समग्र मिडियासम्बद्ध कुशल प्रशिक्षकको भूमिकामा पनि यहाँका सञ्चारकर्मी परिचित बनेका छन् । साविक शनिश्चरेअन्तर्गत मिलनचौक निवासी सरस्वती कार्कीले कान्तिपुर राष्ट्रिय दैनिकमा संवाददाताको भूमिका निर्वाह गर्दा नगरको प्रतिबिम्ब झल्किने गरेको नगरका अग्रज पत्रकारको बुझाइ छ ।

मोरङमै सबैभन्दा पहिले यही नगरपालिकाको वडा नं. १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा आमसञ्चार तथा पत्रकारिता विषयको पठनपाठन सुरु गरेको छ । २०७८ सालदेखि पहिलोपटक यस माविले कक्षा ११ र १२ मा आमसञ्चार तथा पत्रकारिता विषय थप गरी पढाउन थालेपछि क्रियाशील सञ्चारकर्मीसँगै मिडियाप्रति झुकाब राख्ने सम्पूर्ण विद्यार्थीको आकर्षण बढ्न थालेको बुझाइ छ, प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको । प्रअ बुढाथोकीका अनुसार समयको मागअनुरूप पत्रकारिता पेसामा प्रवेश गरेका र गर्न चाहने सबैका लागि पत्रकारिता शिक्षा अनिवार्यजत्तिकै भइसकेको सन्दर्भमा विद्यार्थीको राम्रो आकर्षण छ । नेपाल पत्रकार महासङ्घ मोरङको प्रतिनिधि मण्डलले पहिलो पटक यही विद्यालयमा पत्रकारिता विषयको पठनपाठन सुरु गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । पत्रकारिताको शैक्षिक उन्नयनमा नगर सम्पन्न मानिन्छ । मोरङ जिल्लामै सबैभन्दा उच्च शैक्षिक योग्यता दर्शनाचार्य (एमफिल) को उपाधि हासिल गर्ने पत्रकार (लेखक स्वयम्) यही नगरमा क्रियाशील रहेको अवस्था छ ।

नगरपालिकाले समेत यहाँको पत्रकारिताको श्रीवृद्धिका लागि मिडिया प्रवर्धन कार्यक्रमअन्तर्गत प्रोत्साहन रकमको व्यवस्था मिलाउँदै आएको छ । नगर प्रमुख मोहन तुम्बापोका अनुसार नगरपालिकामा रहेका मिडियालाई लोककल्याणकारी विज्ञापनमार्फत र पत्रकारका लागि विभिन्न समयमा उपयुक्त प्रभावकारी कार्यक्रमको आयोजना गरी सम्बोधन गर्ने गरिएको छ । यसै गरी नगरका सूचना सहजै सम्प्रेषण गर्नका लागि पत्रकारमध्येबाटै सूचना सम्पादकको नियुक्ति गर्ने प्रचलनलाई यस नगरपालिकाले निरन्तरता दिइरहेको छ । बर्सेनि पत्रकारिताको श्रीवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गर्ने अग्रज पत्रकारलाई सम्मान र क्रियाशील पत्रकारलाई पुरस्कार गर्ने नीतिगत व्यवस्था गरी पालिकाले कार्यान्वयन गरिरहेको छ । यसबाट नगरमा कार्यरत पत्रकारलाई थप हौसलासहित जिम्मेवारीसमेत बोध गराउने बुझाइ छ– नेपाल पत्रकार महासङ्घ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराईको । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईका अनुसार चाँडै नगरपालिकाको तर्फबाट आमसञ्चार तथा पत्रकारिता विषय अध्ययन गर्ने केही विद्यार्थीलाई बर्सेनि छात्रवृत्ति प्रदान गर्ने योजना बनाई कार्यान्वयन गरिँदै छ ।

त्यसो त नगरभित्रको वर्तमान पत्रकारिताको स्तरलाई अझ माथि उकास्नका लागि सम्बन्धित सञ्चार माध्यमले पनि विशेष योजना बनाई कार्यान्वयन गर्न अग्रसर हुनुपर्छ । अहिलेको ‘सूचनाक्रान्ति’ मानिने अनलाइन/प्रसारण युगमा सम्बन्धित मिडियाले पुस्तौँदेखिको विश्वासलाई अक्षुण्ण राख्न सधैँ चनाखो बन्नै पर्दछ । यसका लागि बढीभन्दा बढी खोजमूलक सूचना पस्कनु यहाँको पत्रकारिताको प्रमुख कर्तव्य बन्दछ । सञ्चार माध्यमले स्थानीय सरकार र समुदायसँग सहकार्य गरेर विशेष परियोजनाहरू सञ्चालन गर्न सके जनसहभागिता र समर्थन बढ्ने हुन्छ । शैक्षिक सामग्री उत्पादनमा ध्यान दिने मिडियाले शैक्षिक संस्थाहरू र अन्य सङ्गठनहरूसँग सहकार्य गरेर विशेष शैक्षिक सामग्री प्रदान गर्न सकिन्छ ।

यस्तै स्वास्थ्य विकास, वातावरण र सरसफाइसहित सामाजिक सहभागिताजस्ता विशेष प्रकृतिका परियोजनात्मक एवम् खोजमूलक सामग्रीको प्रकाशन/प्रसारण गर्न सकिन्छ । यता, विभिन्न सङ्घ सङ्गठनहरूसँग सहकार्यात्मक रूपमा अनुसन्धानमूलक विषयसन्दर्भ उजागर गर्न पनि नगरभित्रका विभिन्न समाचारसम्बद्ध मिडिया अघि बढ्नुपर्ने भएको छ ।

सम्बन्धित खवर