नगर खेलकुद महोत्सव शुरु

नगर खेलकुद महोत्सव शुरु

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकामा शनिवारदेखि पथरीशनिश्चरे नगर खेलकुद महोत्सव २०८० सुरु भएको छ ।

खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान भन्ने नाराका साथ आयोजित महोत्सवको नगरप्रमुख मोहनप्रसाद तुम्वापोले उद्घाटन गर्नुभयो । नगरपालिका अन्तर्गत नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित खेलकुद महोत्सव माघ १५ गतेसम्म चल्नेछ।

प्रतियोगिताको उद्घाटन खेल सिरीजंगा फुटबल क्लब र प्रभात सामुदायिक फुटबल क्लबबिच भएको थियो।

सिरीजंगा फुटबल क्लबले प्रभात सामुदायिक फुटबल क्लव विरूद्ध ३–१ को अन्तरमा पराजित गर्दै विजय हासिल गरेको छ भने आइतवारको खेल नाजारिन वाई सि र वाई एफ सी बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ।

महोत्सवमा फुटबल (महिला, पुरुष), भलिवल, क्रिकेट, बुद्धिचाल (चेस), तेक्वान्दो, कराँते, मिनि म्याराथन गरी ७ वटा विधामा प्रतिस्पर्धा हुने समितिका सदस्य सचिव नविन खुलालले जानकारी दिनुभयो । नगरको वार्षिक स्वीकृत बजेटबाट यो महोत्सवका लागि १४ लाख ३१ हजारको बजेट तथा कार्यक्रम प्रस्ताव तयार गरेको खुलालले जानकारी दिनुभयो ।

नगरमा दर्ता भएका क्लवहरूबाट फुटबलमा १० वटा टिम रहेका छन् । क्रिकेटमा वडा स्तरबाट ९ वटा टिम रहेका छन् । भलिवलमा ७ वटा टिम सहभागी हुने भएका छन् । कराँतेमा पुरुष ३७ र महिला २० जना, तेक्वान्दोमा ५० जना, बुद्धिचालमा हालसम्म ८० जनाको नाम दर्ता भएको र १ सयजना सहभागी पुग्नसक्ने अनुमान आयोजकले गरेको छ । मिनि म्याराथनका लागि ३० जनाको नाम दर्ता भएको यसमा ५० जनासम्म पुग्ने अनुमान छ । महिला फुटबल टिम यो पटक २ वटा मात्रै रहेको छ । महिला खेलाडीहरूलाई प्रोत्साहनका लागि मात्रै भएपनि २ वटा टिम सहभागी गराएको आयोजकले जनाएको छ ।

खेलकुदका कार्यक्रममा बुद्धिचाल सिनभिलेज पाटिप्यालेसमा, क्रिकेट जिरिखिम्ती मैदानमा र अन्य खेलहरू पथरी बजार उत्तर प्रस्तावित पथरी रंगशालामा हुने आयोजकले जनाएको छ ।

फुटबलमा प्रथम १ लाख, दोस्रो ५० हजार, महिला फुटबल प्रथम १० हजार र दोस्रो ५ हजार नगद ट्रफी, मेडल रहेको छ । फुटबलमा प्रत्येक खेलमा म्यान अफ दी म्याच र फाइनलमा विधागत पुरस्कारहरू रहेका छन् जसमा गोल्डेन बल, गोल्डेन बुट र गोल्डेन ग्लोव्सको व्यवस्थापन गरेको छ ।

भलिवल खेलमा पहिलो हुनेले २५ हजार र दोस्रोले १५ हजार, क्रिकेटमा पहिलो २० र दोस्रो १५ हजार सहित विधागत पुरस्कारहरू रहेका छन् । कराँते र तेक्वान्दोमा प्रथम पुरस्कार ५ हजारका दरले रहने छ । कराँते र तेक्वान्दो उमेर समुह अनुसार हुने छ । मिनि म्याराथनमा प्रथम ६ हजार, दोस्रो ४ हजार र तेस्रो हुनेले २ हजारका दरले नगद पुरस्कार पाउने छन् । म्याराथनमा महिला र पुरुष दुवै सहभागीको अलग अलग मुल्याङ्कन गर्ने तयारी छ । मिनि म्याराथन माघ १२ गते शुक्रबार विहान गर्ने तयारी आयोजकको छ ।

सम्बन्धित खवर