पथरी, माेरङकाे पथरी शनिश्चरे नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सडक नाटक प्रदर्शनी गरिएको छ ।
हिजाे पथरी शनिश्चरे वडा नं. ५ र ६ को हसन्दह बजारमा नाटक प्रस्तुत गरिएको हो । नाटक हेर्न स्थानीयवासी र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । दोबाटे समूहका कलाकारहरु हरेन्द्र खत्री, भीष्म न्यौपाने, पूर्णकला राई, प्रेम गुरुङ, मेनुका कुलुङ, विक्रम धिमाल, दिपा ढकाल लगायत कलाकारको प्रस्तुति रहेको नाटकलाई सबैले रुचाएका थिए ।
नाटकको निर्देशन हरेन्द्र खत्री र भीष्म न्यौपानेले गरेका थिए । नाटक प्रस्तुतअघि वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्काले उपस्थित माहोलमा सबैलाई स्वागत मन्तव्य राख्नुभएको थियो । यसैगरी नगरपालिका उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षतामा सो नाटक प्रदर्शन गरिएको थियो ।
नाटक प्रस्तुति पछि उप–प्रमुख काफ्लेले भन्नुभयो–‘नाटकले अत्यन्तै सान्दर्भिक कुराहरु उजागर गरेको छ, हाम्रो समाजमा लैंगिक हिंसाको सिकार महिला मात्र होइन पुरुषहरु पनि हुनेगरेका छन् यसलाई निर्मूल पार्नुपर्छ ।’ सो सडटक नाटक मंसिर २२ गते वडा नं. २ को बुद्धचौक र २४ गते वडा नं. ४ को शनिश्चरे बजारमा प्रदर्शन गरिनेछ ।