उर्लाबारी आगलागी घटना: प्रहरीको गाडि र एम्बुलेन्स तोडफोड गर्ने एक पक्राउ, आपराधिक उपद्रव मुद्धा दर्ता

उर्लाबारी आगलागी घटना: प्रहरीको गाडि र एम्बुलेन्स तोडफोड गर्ने एक पक्राउ, आपराधिक उपद्रव मुद्धा दर्ता

दिलीप पोखरेल/ उर्लाबारी
उर्लाबारी आगलागि घटनामा प्रहरीको गाडि र एम्बुलेन्स तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

गत कात्तिक २६ गते लक्ष्मी पूजाको राति उर्लाबारी –७ ईटहरा रोडका स्थानिय दिपक कार्कीको घर (स्नेहा ज्वेलर्स)मा अचानक आगलागि हुँदा उद्धारमा ढिलाई गरेको भन्दै आक्रोशित बनेको भिडले प्रहरीको गाडि र एम्बुलेस तोडफोड गरेको थियो । सो घटना घटेको २४ घण्टा बित्न नपाउदै प्रहरीले घटनामा संलग्न रहेको आशंकामा उर्लाबारी-७ का २३ वर्षिय आकाश तामाङ्लाई पक्राउ गरेको थियो ।

प्रहरीको अनुसन्धानमा तामाङ्लगायतले गाडि र एम्बुलेन्समा ढुंगामुढा प्रहार गरेको खुलेको छ ।मोरङ्ग जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार प्रहरीले अन्यको समेत खोजी कार्य जारी राखेको बताएका छन् । उनीहरुलाई आपराधिक उपद्रव मुद्धामा दोषी बनाई अनुसन्धान गरिरहेको जनाईएको छ ।

यस्तै उर्लाबारी प्रहरीले उर्लाबारी -४ आईतबारेस्थित एक घरको कोठामा स्थानिय विशाल लिम्बू झुण्डिएको अवस्थामा मृत भेटिएको घटनालाई लिएर घर तोडफोड गर्ने युवाहरुलाई समेत पक्राउ गरेको छ । प्रहरीले स्थानिय विशाल सुनुवारको घरमा तोडफोड गरेको भन्दै उक्त वडाकै २२ वर्षिय कुशल दाहाल, २३ वर्षिय गोपीलाल तामाङ र २६ वर्षिय टिकाराम गौतम र वडा नम्बर ८ का २२ वर्षिय प्रदिप विकलाई पक्राउ गरी आपराधिक उपद्रव मुद्धा चलाईएको प्रवक्ता दाहालले बताए । उनका अनुसार सो घटनामा अन्य ३ जना समेत संलग्न रहेको बताउदै तिनको समेत खोजी गरिएको बताएका छन् ।

गत मंसिर ७ गते सुनुवारको घरमा २० वर्षिय लिम्बु सिलिङ पंखामा झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । उनको परिवारले सो घटनामा लिम्बूको हत्या भएको बताउदै निश्पक्ष छानविनको माग राख्दै आएको छ ।

यता प्रहरीले प्रेमीकाको कोठामा तान्नामा झुण्डिएको अवस्थामा मृत भेटिएका लिम्बूको शव परिक्षण गरी आवश्यक अन्य प्रकृयाहरु पुरा गरेर पोष्टमार्टमको लागी विराटनगरस्थित कोशी अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीले सो घटनाबारे सुक्ष्म अनुसन्धान गरिरहेको बताईएको छ ।

पछिल्ला समय मोरङ्ग प्रहरीले त्यस्ता प्रकृतिका घटनाहरुमा संलग्नहरुको पहिचान गरी कानुन बमोजिम मुद्धा चलाई कारवाही गराउदै आएको छ ।

मोरङ्ग जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० मा ६ वटा ,२०७८/०७९ मा ४ वटा र चालु आर्थिक वर्ष २०८०/०८१ मा ३ ओटा आपराधिक उपद्रव मुद्धामा १७ जनालाई पक्राउ गरी कारवाही गरिएको प्रवक्ता दाहालले जानकारी दिए । यस्तै उक्त मुद्धामा ४ जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

यस्तै उनले अस्पतालमा चिकित्सकक‍ो लापरवाहीले विरामीको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पतालमा तोडफोड गर्ने, चिकित्सकहरुमाथी कुटपिट गर्ने प्रवृत्ति बढेकोप्रति खेद व्यक्त गर्दै प्रहरीले त्यस्ता घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्ने गरेको बताएका छन् । डिसपी दाहाल भन्छन्, “सार्वजनिक स्थान एवम् व्यक्तिगत सम्पतिहरुमा तोडफोड गर्ने ,गराउने तथा क्षती गराउने कसुरमा संलग्नहरुलाई प्रहरीले स्पोर्ट एक्सन लिन्छ, तत्काल पहिचान गरि कानुन बमोजिम मुद्धा चलाउछौँ , कारवाही गर्छौँ । त्यस्तो घटनामा प्रहरीले ‘एक्सक्युज ‘ नै गर्दैन ।”

त्यस्तै उर्लाबारी प्रहरीले यसअघि सोहि प्रकृतिको मुद्धामा गत जेठ २५ गते उर्लाबारी-३ नयाँ मंगलबारेमा बसमा आगजानी गर्ने ५ जनालाई तत्काल पहिचान गरी पक्राउ गरेको थियो।

त्यसबेला मे १ ख ३०७३ नम्बरको यात्रुवाहक बसले प्र-१-०१-०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिदा कमल गाउपालिका वडा नम्बर २ का ३४ वर्षिय स्कुटर चालक पवन सुवेदीको मृत्यु भएको घटनालाई लिएर उनीहरुले बसमा आगजनी गरेका थिए ।

के हो आपराधिक उपद्रव मुद्धा?
दोषि ठहर भएमा आपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानी, नोक्सानी भएकोमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ मा आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरको व्यवस्था छ ।

दफा ३ मा भनिएको छ,‘ (ङ) खण्ड (क), (ख), (ग) वा (घ) मा लेखिएदेखि बाहेक अरु कुनै काम गरी आपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानि, नोक्सानी भएकोमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना ।’संहिताअनुसार हूल हुज्जत गरी वा नगरी अनधिकृत रुपमा अर्काको स्वामित्व वा कब्जामा रहेको कुनै सम्पत्तिमा त्यस्तो व्यक्तिको अनुमति नलिइ प्रवेश गरेमा वा अनुमति लिइ प्रवेश गरेकोमा त्यस्तो कुनै काम गर्ने नियतले सो सम्पत्तिमा बसिरहेमा, ओगटेमा वा सम्पत्ति उपभोग गरी रहेमा निजले आपराधिक प्रवेश गरेको मानिनेछ ।

कसैले कसैको सम्पत्तिमा आपराधिक प्रवेश गर्न वा गराउन नहुने प्रावधान छ। जुन व्यक्तिको स्वामित्व वा कव्जामा सम्पत्ति रहेको छ,त्यस्तो व्यक्तिलाई डरत्रास देखाउने, अपमान गर्ने वा झिझ्याउन गर्न हुँदैन ।

कुनै सरकारी कार्यालय वा मानिस बसोबास गरेको घरमा प्रवेश गरेको भए ६ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ।

सम्बन्धित खवर