करोडाैँको बजेट बलुवामा पानी, भलुवा सिमसारको काम अलपत्र

करोडाैँको बजेट बलुवामा पानी, भलुवा सिमसारको काम अलपत्र

दिपेश रोक्का, कानेपोखरी

मोरङको कानेपोखरी ७ मा रहेको भलुवा सिमसारको काम अलपत्रमा परेको छ।

सिमसार निर्माणको काम सुरु भए पनि अहिलेसम्म पनि निर्माण कार्य सम्पन्न्न भएको छैन । भलुवा सिमसारलाई पूर्वको नमुना पर्यटकीय क्षेत्र बनाउन कानेपोखरी गाउँपालिकाका पूर्व अध्यक्ष तारा बहादुर काफ्लेको पालामा संरचना निर्माणको शिलान्यास भएको हो । शिलान्यास भएको २ वर्ष वित्न लाग्दा काम भने ४० प्रतिशत हाराहारी मात्रै सम्पन्न भएको छ ।

भलुवा सिमसार निर्माणका लागि ३ करोड ६५ लाख ९८ हजार ८७० रुपैयामा स्काई सएस मुटुयल जेबिले ठेक्का लिएको थियो । निर्माण कम्पनीले दुई वर्ष भित्रमा काम सम्पन्न गर्नेगरी कामको जिम्मा लिएको थियो तर सम्झौताको समय सीमा सकिन लाग्दा पनि काम भने आधा पनि सम्पन्न भएकाे छैन ।

भलुवा सिमसार पर्यटकीय क्षेत्र निर्माणका लागि पुर्व मन्त्री भानुभक्त ढकालले ५ करोड बजेट बिनियोजन गरेका थिए । मन्त्रालयबाट ७० प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत व्यवहोर्ने गरि सिमसारमा संरचना निर्माणको काम सुरु भएको हो ।

पुर्ब पश्चिम राजमार्ग कानेपोखरी चोक देखि करिब तीन किलोमीटर दक्षिणमा रहेको सिमसार तथा जलाधार क्षेत्रमा सिमसार रहेको छ । ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र भित्र रहेको तल्लो भागमा मात्र करिब १४ हेक्टर जमिनमा सिमसार फैलिएको छ ।

वन्यजन्तुको लागि सानो चिडियाखाना, ट्रि हाउस, वनभोज खाने कटेज, स्वागत गेट, कल्भट, विश्रामलय, पाले बस्ने ठाउँ शौचालय , पोखरी विस्तार तथा सफा गर्ने, पोखरीको विचमामा पुलको निर्माण, सभा हल सहितको पाहुना वस्ने घर जस्ता संरचना निर्माण हुने भनिएको थियो । हालसम्म पोखरी सफा गर्ने, कल्भर्ट निर्माण, पैनीको क्यानल निर्माण, घेराबाराको काम आधा सम्पन्न भएको र जम्मा योजनाको काममा ४० प्रतिशत मात्रै काम सम्पन्न भएको वडा नं. ७ का अध्यक्ष मोहन अधिकारीले बताए ।

उति खेर तत्कालीन वन समितीका अध्यक्ष हरि पौडेलले भलुवा सिमसार क्षेत्रलाई वनको भावी कार्ययोजनामा समेटि १० बर्षमा पुर्वकै प्रमुख पर्यटकीय स्थल बनाउने घोषणा गरेका थिए । तर त्यती बेला बजेट अभावका कारण काम हुन सकेको थिएन ।

सिमासार क्षेत्र भनको जग्गा भएकाले र केन्द्रबाट पनि बजेट नआएपछि काम रोकिएको कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नामको भनाइ छ । वनको कार्ययोजना बनेपछि पूनः काम सुरु हुने अध्यक्ष इङ्नामले बताइन् । भलुवा सिमसार संरक्षण र सम्वद्र्धनका लागि लाखौ बजेट निकासा भएपनी यस्को उन्न्ती र सोचेअनुरुप नभएको स्थानीयको भनाइ छ।

सम्बन्धित खवर