मुख्य सडकमा विद्युत तार भूमिगत गर्दै

मुख्य सडकमा विद्युत तार भूमिगत गर्दै

भरतपुर महानगरपालिकाको मुख्य दुई सडकमा विद्युत्का तार भूमिगत गरिँदै छ । गोन्द्राङदेखि पुलचोक सडक र बाइपास सडकमा विद्युत्का तार भूमिगत गर्ने काम भइरहेको छ । मेशिनको प्रयोगले जमिनमुनि सुरूङ बनाउने र पाइप बिछ्याउने काम भइरहेको विद्युत् प्राधिकरण भरतपुरले जनाएको छ ।

पहिलो चरणमा ३३ केभी लाइनका तार भूमिगत गर्नका लागि पाइप बिछ्याउने काम गरिएको हो । ३३ केभीका तार भूमिगत गरेपछि ११ केभी र एलटी लाइन क्रमशः भूमिगत गर्ने तयारी छ । विद्युत्का तार भूमिगत गरिएपछि बजार क्षेत्र खुला र सुन्दर देखिने छ ।

३३ केभीका तार भूमिगत गर्न पाइप बिछ्याउने काम सकिन लागेको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको भरतपुर शाखाका इलेक्ट्रिकल सुपरभाइजर सन्दीपविक्रम शाहले बताए । ‘३३ केभीको लाइन ४।५ किमीमा भूमिगत गर्नुपर्ने हो । ३।५ किमीमा पाइप बिछ्याउने काम भइसकेको छ । बाँकी एक किमीमा पनि पाइप बिछ्याएर सकिएपछि केबल हाल्छौँ’, उनले भने ।

उनका अनुसार पाइप बिछ्याएपछि चेम्बरलगायतका संरचनाहरु बनाएर तारलाई पाइपमा घुसाइन्छ । बाइपास सडकमा भरतपुर बसपार्क चोकदेखि भरतपुर आँखा अस्पतालसम्मको सडकखण्डमा पाइप विछ्याउने काम भइरहेको छ । भरतपुर बसपार्क चोकदेखि गोन्द्राङसम्म सडकको एक साइडमा पाइप बिछ्याएर सकिएको छ ।

बाइपास सडकमा दुवै साइडमा बिजुलीका तार भूमिगत गरिने शाहले बताए । ‘बाइपासमा आठवटा पाइप बिछ्याउछौँ । बसपार्क चोकदेखि मिलन चोकसम्म आठवटा र त्यहाँबाट गोन्द्राङसम्म चारवटा पाइप बिछ्याउछौँ’, उनले भने ।

भरतपुरमा गोन्द्राङ–पुलचोक र बाइपास सडकको दुवै साइडमा गरी २३ किमीमा बिजुलीका तार भूमिगत गरिने उनले जानकारी दिए । ‘बिजुलीका तार भूमिगत गर्ने बेलामा एउटा अप्टिकल फाइबर पनि हाल्छौँ । इन्टरनेटका तार पनि अहिल्यै भूमिगत गर्ने विषयमा भने विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच कुनै समन्वय भएको छैन’, उनले भने ।

तार भूमिगत गरेपछि बाहिरी समस्याले खासै असर नगर्ने भएकाले तारमा ‘फल्ट’ आउने सम्भावना एकदमै कम हुने उनी बताउँछन् । ‘फल्ट भइहाले पनि हामीसँग एस्पियर हुन्छ, एस्पियर भनेको एउटा छुट्टै केबल हो । एउटा तारमा फल्ट आउँदा जगेडामा राखिएको केबलबाट तत्कालै बिजुली सप्लाइ गर्न मिल्छ । बिग्रिएको तारलाई विस्तारै मर्मत गर्न पनि सकियो’, उनले भने ।

भूमिगत भएपछि तारलाई चट्याङले असर गर्दैन । जसका कारण हावाहुरी र चट्याङ पर्ने बित्तिकै लाइन जाने समस्या पनि हट्ने छ । एक अर्ब ३० करोड रूपैयाँ लागतमा विद्युत्का तार भूमिगत गर्न लागिएको हो । सम्झौताअनुसार अबको नौ महिनामा भरतपुर र पोखरामा तोकिएका सडकमा विद्युत्का तार भूमिगत गरिसक्नुपर्ने छ ।

सम्बन्धित खवर