कालिगण्डकीको शिला अयोध्यामा हस्तान्तरण

कालिगण्डकीको शिला अयोध्यामा हस्तान्तरण

भारत अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालिगण्डकीबाट उत्खनन् गरी अयोध्या पु¥याइएको शिला राम मन्दिर निर्माण ट्रस्टलाई हस्तान्तरण गरिएको छ ।

बिहिबार अयोध्यामा आयोजित एक समारोहमा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति विलमेन्द्र निधि र जनकपुरको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उक्त शिला श्री राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायलाई शिला हस्तान्तरण गरेका हुन् ।

हिन्दू परम्परा अनुसार पूजापाठ गरी मन्दिरका लागि कलात्मक मूर्ति लगायतका सामग्री निर्माणस्थल रामसेवकपुरममा उक्त शिला हस्तान्तरण गरिएको हो ।

शिला हस्तान्तरण कार्यक्रममा नेपाल र भारतबाट उपस्थित हिन्दू धर्मावलम्बीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । त्यस अवसरमा सयौं साधुहरु पनि उपस्थित थिए । उनीहरुले शिलालाई रामको स्वरुप मानेर पूजाआजा गरेका थिए ।

शिला पूजापछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता निधिले राम जन्मभूमिमै आएर शिला हस्तान्तरण गर्न पाउनु आफ्नो सौभाग्य भएको भन्दै यो कामलाई सफल बनाउने भारतीय पक्षका सबै अधिकारीलाई नेपालको तर्फबाट आभार व्यक्त गर्नुभयो ।

त्यसैगरी महन्थ दासका उत्तराधिकारी रोशन दासले जानकी मन्दिरको तर्फबाट पत्र वाचन गर्दै सो पत्र पनि ट्रष्टका महासचिव रायलाई हस्तान्तरण गर्नुभयो ।

शिला बुझ्नुहुँदै महासचिव रायले जनकपुर र अयोध्याको सम्बन्ध अवर्णनीय रहेकोले यो सम्बन्धलाई देवशिलाले थप प्रगाढ बनाएको धारणा राख्‍नुभयो ।

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिला जनकपुरधामबाट बुधबार अयोध्या पुर्‍याइएको थियो ।

सम्बन्धित खवर