मोरङ, मापदण्ड बिपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्ध गर्न गृह मन्त्रालयले निर्देशन दिएपछि अनुगमन भएको छ । मोरङमा रहेका अधिकांश उद्योग मापदण्ड बिपरीत रहेकाले त्यस्ता उद्योग बन्ध गर्न समेत निर्देशन गरेको जिल्ला समन्वय समिति मोरङका निमित्त समन्वय अधिकारी तथा अनुगमन संयोजक हरि प्रसाद भट्टराईले बताउनुभयो ।
अनुगमन टोलीले मोरङमा सञ्चालनमा रहेका मापदण्ड र नियम विपरीतमा १३ वटा क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएको छ । संयोजक भट्टराईले ६ वटा पालिकामा रहेका १९ वटा क्रसर उद्योगको अनुगमन भइसकेको र २ वटा पालिकामा रहेका क्रसर उद्योगको अनुगमन गर्न बाँकी रहेको बताउनुभयो ।
भट्टराईले भन्नुभयो अनुगमन गरिएका १÷२ वटा वाहेक अधिकांश क्रसर उद्योग मापदण्ड पूरा नगरेका, दर्ता नभएका, नवीकरण नभएकालगायत कानुन विपरीत सञ्चालनमा रहेको पाएपछि तत्कालका लागि बन्द गर्न निर्देशन दिएका छौं ।’
मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारी र ग्रामथान रहेका उद्योगको अनुगमन गरेको हो । लेटाङ र मिक्लाजुङमा रहेका क्रसर उद्योगको अनुगमन बाँकी रहेको र त्यहाँको उद्योगको पनि अनुगमन पछि गृह मन्त्रालयमा प्रतिवेदन पठाउने भट्टराईले बताउनुभयो ।
बेलबारीमा रहेको स्टर्न एग्रीगेट, सूर्य एग्रीगेट, एनआई एग्रीगेट, धनपालथान क्रसर उद्योग, पाथीभरा वासिङ एण्ठ क्रसर उद्योग मापदण्ड विपरीत सञ्चालनमा रहेकाले बन्द गर्न निर्देशन दिइएको छ । त्यस्तै कागपत्र अद्यावधिक नगरेको र खोला किनारमा रहेकाले सुन्दरहरैँचाको तिरुपति क्रसर उद्योग, पशुपति क्रसर, सलोनी वासिङ प्लान्ट्स, केराबारीको शिवम् एग्रीगेट इन्डस्ट्रिज, महादेव कंन्क्रिट उद्योग, जयमातादी चन्दा क्रसर उद्योग र कृष्णक्रसर इन्डस्ट्रिजलाई बन्द गरिएको छ ।
राष्ट्रिय वन क्षेत्रबाट २ किलोमिटर र चुरे क्षेत्रभन्दा १ किलोमिटर टाढा, खोला क्षेत्रभन्दा ५ सय मिटर टाढा मात्र क्रसर उद्योग राख्न पाइने व्यवस्था छ । तर, यहाँका अधिकांश उद्योग चुरे र वन क्षेत्रमै सञ्चालन हुँदै आएका छन् ।