बीमा समितिले बीमा अभिकर्ताको लाईसेन्स वितरणका लागि परीक्षा लिने भएको छ । हाल १८ घण्टाको आधारभुत तालिम लिएको व्यक्तिलाई अभिकर्ताको लाइसेन्स दिने गरिएकोमा अब भने छुट्टै परीक्षा पास गर्नु पर्ने भएको हो ।
अहिलेको अवस्थामा एसलएसी वा एसईई उत्तीर्ण गरेर बीमा कम्पनीले यस सम्बन्धी १८ घण्टाको तालिम लिएकालाई अभिकर्ता लाइसेन्स दिने गरिएको थियो । अब छुट्टै पाठ्यक्रम बनाएर परीक्षा पास गरे पछि मात्रै लाइसेन्स दिने व्यवस्था गरिने बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताए । लामो समयदेखि यस विषयलाई अगाडि बढाउन खोजिएको भए पनि पछिल्लो घटनाले यसको आवश्यकतालाई थप बढाएको उनको भनाइ छ ।
अहिले तत्कालै त्यसो गर्दा सबै काम रोकिने भएकाले पाठ्यक्रम बनाएर त्यसको अधिनमा रहेर कम्पनीले नै परीक्षा लिने व्यवस्था गरिने र कालान्तरमा समिति आफैले परीक्षा लिने अध्यक्ष सिलवालको भनाइ छ । ‘केही समय पाठ्यक्रम बनाएर कम्पनीलाई नै दिने हो त्यस पछि समिति आफैले परीक्षा लिन्छ र सो परीक्षा पास भएका व्यक्तिहरु मात्रै अभिकर्ता बन्न पाउँछन्,’ उनले भने ।
बीमित र बीमकबीचमा समन्वय गराएर व्यवसाय विस्तारका लागि महत्वपूर्ण भुमिका हुने अभिकर्ताहरुले नियतवस नै बीमाको गलत प्रयोग गरेको घटनाहरु बाहिर आएपछि लाइसेन्स वितरणमा कढाइ गर्न लागिएको उनले बताए । अहिले योग्यता कति राख्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।
पछिल्लो पटक रिलायन्स लाइफ इन्स्योरेन्स लाइफमा अभिकर्ताकै मिलेमतोमा बाँकेमा बीमित सर्जन विकको नियोजित हत्या गरी दावी भुक्तानी बुझेको घटना बाहिरीए पछि समितिले यस्तो कदम चालेको हो । अहिले समितिमार्फत करिब साढे २ लाखले लाइसेन्स लिएको भए पनि करिब १ लाख जना मात्रै सक्रिय रहेका छन् ।