मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा’

मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा’

मेलम्ची नगरपालिका–११ धौले पैंयुखर्कमा ‘एक घर, एक धारा’ निर्माण गरेर हस्तान्तरण गरिएको छ । नगर प्रमुख डम्बर अर्याल, उपप्रमुुख भगवती नेपाल, वडाध्यक्ष रुद्र दुलाल, सेवक नेपालका अध्यक्ष रेमन्त नाथले शुक्रबार खानेपानीको उद्घाटन गर्नुभएको हो । नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउँमा २६ वटा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ ।

धौले पैंयुखर्क खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत निर्मित उक्त खानेपानी गाउँमा झरेपछि स्थानीयहरुको वषौंदेखिको समस्या समाधान भएको छ । नगरपालिकाको रु १३ लाख, सेवक नेपालको रु १० लाख १० हजार १९ र जनश्रमदानबा रु चार लाख ६७ हजार ३१४ लागतमा धारा निमार्ण गरिएको सेवक नेपालका कुमार भट्टराईले जानकारी दिनुभयो ।

धारा निमार्ण भई पानी आएपछि गाउँलेको दैनिकीमा सहज भएको उपभोक्ता समितिका अध्यक्ष लिलाबहादुर थापाले बताउनुभयो । उक्त बस्तीमा दलित, जनजाती, विपन्न वर्गको बसोबास छ । गाउँलेहरु यसअघि दुई घण्टाको समय लगाएर एक गाग्री पानी ल्याएर उपभोग गर्नुपर्ने अवस्थामा थिए । घरमा नै धारा भएपछि घर गृहस्थीका काम सकेर अरु पेशा व्यवसाय गर्न समय मिलेको बिन्दा विकले खुसी व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर