पक्की घरले ल्यायो खुसियाली

पक्की घरले ल्यायो खुसियाली

कोहलपुर नगरपालिकाले पक्की घर बनाइदिएपछि यहाँका अल्पसङ्ख्यक गन्धर्व तथा विपन्न दलित परिवारमा खुसियाली छाएको छ । कोहलपुरको लोकनगरमा नगरपालिकाले बनाइदिएको घरमा बस्दै आउनुभएकी कल्पना गन्धर्र्वले जीवनभरिको सपना पूरा भएको बताउनुभयो ।

“ नगरपालिकाले घर बनाइदिएकामा हामी अहिले धेरै खुसी छौं”, उहाँले भन्नुभयो ,“डुडुवा नालाले घरखेत सबै लगेपछि हाम्रो सम्पति केही थिएन,तर अहिले नगरपालिकाले घर दिएको छ ।”सामूहिक आवास कार्यक्रम अन्तर्गत कोहलपुर नगरपालिकामा रहेका घरबासविहीन अल्पसङ्ख्यक गन्धर्व, वादी तथा विपन्न दलित समुदायको लागि २० घर निर्माण गरी हस्तान्तरण गरिएको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार, सामूहिक आवास कार्यक्रम अन्तर्गत कोहलपुर –११ लोकनगरमा १७ घर गन्धर्व, दुई घर वादी र एक घर एकल अपाटङ्गता दलित महिला गरी २० जनालाई घर हस्तान्तरण गरिएको छ । नगर प्रमुख रावतले अल्पसङ्ख्यक गन्धर्व र विपन्न दलित परिवालाई सधैँको लागि स्थायित्व प्रदान गर्नेगरी आवास हस्तान्तरण गरिएको बताउनुभयो । गन्धर्र्व र विपन्न दलित परिवारका लागि आयआर्जनको निम्ति पनि नगरपालिकाले कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको उहाँको भनाइ छ ।

नगरपालिकाले रु दुई करोडको लगानीमा २० भवन निर्माण गरेर अल्पसङ्ख्यक गन्धर्व र विपन्न दलित परिवालाई हस्तान्तरण गरेको प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले बताउनुभयो । शौचालयसहित निर्माण गरिएको यो सामूहिक आवस अन्य पालिकामा भन्दा नमूना काम भएको उहाँले दाबी गर्नुभयो ।

सम्बन्धित खवर