पथरी, अमरदह ढल्के जोवन गोल्डकपको चौथो संस्करणको उपाधिमा भारत, दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबले कब्जा जमाएको छ।
मोरङको सुनवर्षी २ अमरदहमा आज मंगलबार सम्पन्न गोल्डकपको फाईनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले स्तब्ध पार्दै मानेभञ्ज्याङ भेट्रान फुटबल क्लबले उपाधीसँगै नगद ५ लाख ११ हजार रुपैयाँ जितेको हो । मानेभञ्ज्याङका लागि राज राउतले खेलको ५५ औँ मिनेटमा गरेको गोल नै जितका लागि पर्याप्त बनेको हो । प्रतियोगितामा उपविजेता बनेको त्रिभुवन आर्मी फुटबल क्लबले नगद २ लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको छ ।
आजको खेलको मेन अफ द म्याच मानेभञ्ज्याङ भेट्रान क्लब दार्जिलिङका राज राउत घोषित हुदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टिमका समिर प्रधान बने भने उत्कृष्ट डिफेन्स उपविजेता टोलिका युद्ध शाही घोषित भए । प्रतियोगिताको उत्कृष्ट गोल रक्षक विजेता मानेभञ्ज्याङका उर्गेन पिन्सो शेर्पा घोषित भए । प्रतियोगितामा १ ह्याट्रिक सहित ७ गोल गरेका त्रिभुवन आर्मीका टेक बहादुर बुढाथोकी सर्वाधिक गोलकर्ता बने । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २१ हजार रुपैयाँ प्राप्त गरे भने अन्य विधागत पुरस्कार राशी १६ हजार रुपैयाँ रहेको थियो ।
आज सम्पन्न प्रतियोगितामा भारत, नेपाल र भुटानका विभिन्न १२ वटा टिमको सहभागिता थियो। फाइनल खेलको उद्घाटन पूर्व रक्षामन्त्री तथा मोरङ क्षेत्र नं. २ सांसद डा. मिनेन्द्र रिजाले गरेका हुन् । खेलमा रौनकता बढाउनका लागि विभिन्न जातजातिको झाँकीका साथै अमरदहका विद्यालयहरुले नृत्य प्रस्तुत गरेका थिए ।