अब अनलाइनसँगै भौतिक उपस्थितिमा पनि खुला विश्वविद्यालय !

अब अनलाइनसँगै भौतिक उपस्थितिमा पनि खुला विश्वविद्यालय !

केशव निरौला, पथरी

स्थानीय स्तरमै नेपाल खुला विश्वविद्यालयको गुणस्तरीय शैक्षिक कार्यक्रमहरूबारे जानकारी लिन चाहनेहरूको मागलाई सम्बोधन गर्ने गरी पछिल्लो समय विश्वविद्यालयका पदाधिकारीहरू भौतिक उपस्थितिमै आयोजित अन्तरक्रिया कार्यक्रमहरूमा जुट्नुभएको छ ।

यस क्रममा विश्वविद्यालयका सामाजिकशास्त्र तथा शिक्षा सङ्कायका कार्यक्रम संयोजकसहितको टोली शनिबारदेखि देशको पूर्वी क्षेत्रका विभिन्न शैक्षिक संस्थाहरूमा आयोजित कार्यक्रमहरूमा सरिक हुँदै छ । विश्वविद्यालयले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनका लागि देशका ग्रामीण क्षेत्रहरूबाटसमेत पटकपटक फोन सम्पर्कमा बुझ्न चाहनेहरूको सङ्ख्या अत्यधिक भएपछि सम्भव भएसम्मका स्थानमा भौतिक उपस्थितिमै सरोकारित पक्षसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्नुपरेको उक्त सङ्कायका कार्यक्रम संयोजक डा. जीवन खड्काले जानकारी दिनुभयो । यस क्रममा सोमबार (आज) पथरी बहुमुखी क्याम्पस, बेलबारी बहुमुखी क्याम्पस र सुकुना बहुमुखी क्याम्पसलगायतका शैक्षिक संस्थाहरूमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएका छन् ।

पथरी बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा सोही क्याम्पसका प्रमुख चेतन (चेतनाथ) पौडेल, सहायक क्याम्पस प्रमुख शान्तिराम तिम्सिना, उपप्राध्यापक शङ्कर देवान, शिक्षण सहायकहरू उपेन्द्र बस्नेत, उमेश खड्का, झलक दाहाल, सूर्य कटुवाल, लक्ष्मी ढुङ्गेल, घनेन्द्र कार्की, लेटाङ बहुमुखी क्याम्पसका प्रमुख वीरेन्द्र लिम्बू, उर्लाबारी बहुमुखी क्याम्पसका उपप्राध्यापक उमाकान्त न्यौपाने र सहायक प्राध्यापक केशव निरौलालगायत अन्य प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूको सहभागिता थियो । कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालय सहप्राध्यापक डा. खड्काले अहिलेको विज्ञान र प्रविधिको समयमा खुला विश्वविद्यालय आफैँ सबैको घरघरमा पुगिसकेको बताउनुभयो ।

जिज्ञासुको प्रश्न हल गर्ने सन्दर्भमा डा. खड्काले नेपाल खुला विश्वविद्यालय कहिल्यै पनि गुणस्तरहीन प्रमाणपत्र वितरण गर्ने निकाय नहुने भन्दै समयानुकूल व्यावहारिक, व्यावसायिक र प्रायोगिक विषयका कार्यक्रम सञ्चालन गरेर सबैमाझ लोकप्रिय भइरहेको बताउनुभयो । विश्वविद्यालयले हाल सञ्चालन गरिरहेका विद्यावारिधि (पिएच.डी.), दर्शनाचार्य (एमफिल), स्नातकोत्तर, स्नातक र अन्य डिप्लोमा तहका कार्यक्रमहरू पूर्णरूपमा सिकाइकेन्द्रित रहेको डा. खड्काको भनाइ थियो । सोही कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालयका अर्ली चाइल्डहुड् एजुकेसन सेन्टर (ईसिईसी)का निर्देशक पीताम्बर न्यौपानेले एनओयुले भर्खरै सञ्चालन गरेका स्नातकोत्तर र स्नातक तहका शिक्षासम्बद्ध कार्यक्रमहरू पनि अरूजस्तै पूर्णरूपमा सिकाइकेन्द्रित रहेको बताउनुभयो । जिज्ञासुको प्रश्न हल गर्ने सन्दर्भमा निर्देशक न्यौपानेले सनातनी शिक्षाप्रणालीलाई परिमार्जन गर्दै प्रतिपादित सिद्धान्तको प्रयोगपरक अभ्यास गर्ने गरी विश्वविद्यालयले शिक्षासम्बद्ध कार्यक्रम सुरु गरेको जानकारी दिनुभयो । सोही अवसरमा डिप्लोमा इन लाइब्रेरी एन्ड इन्फरमेसन मेनेज्मेन्ट (डिएलआइएम) कार्यक्रमकी संयोजक निर्मला सुवेदीले एनओयुले व्यावहारिक र प्रायोगिक विषयका कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा पुस्तकालय विज्ञान तथा सूचना व्यवस्थापनको कोर्स सञ्चालन गरेको जानकारी दिनुभयो । विद्यार्थीको बढ्दो मागलाई सम्बोधन गर्ने गरी पुस्तकालय विज्ञान तथा सूचना व्यवस्थापनको स्नातक तह पनि चाँडै सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको उक्त कार्यक्रमकी संयोजक सुवेदीको भनाइ छ ।

यसैगरी सुकुना बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा चन्द्रमणि राई, उपप्राध्यापक तोर्णराज पौडेल, शिक्षण सहायक गणेशप्रसाद भट्टराई, कृष्णप्रसाद आचार्य, विक्रमथापा लगायत अन्य शिक्षक, प्राध्यापक तथा कर्मचारीहरूको सहभागिता थियो । यस्तै बेलबारी क्याम्पसमा भएको कार्यक्रममा प्रमुख भूपेन्द्रप्रसाद कोइरालासँगै बेलबारी नपाका संस्थागत विद्यालयका प्रिन्सिपलहरू सहभागी थिए । सो अवसरमा बेलबारी नगरपालिका र नेपाल खुला विश्वविद्यालयबीच बेलबारीमै विश्वविद्यालयको सिकाइ केन्द्र स्थापना सम्बन्धी छलफल भएको थियो । विश्वविद्यालयका पदाधिकारीहरूको टोली हिजो (आइतबार) जनता बहुमुखी क्याम्पस (सुनसरी) तथा सुविजिमुर विद्यालय (मोरङ)मा आयोजित अन्तरक्रियामा सहभागी थियो ।

विश्वविद्यालयले भर्खरैमात्र खुलाएको एम.फिल. तहको नेपाली, अङ्ग्रेजी, स्वास्थ्य, गणित र शिक्षा अध्ययन, स्नातकोत्तर तहको शिक्षामा सुशासन तथा नेतृत्व र नेपाली शिक्षा, स्नातक तहको बि.एड.पिएस. कार्यक्रम र बि.ए कार्यक्रमको नयाँ भर्नासँगै सरोकारित पक्ष यसबारे जान्न निकै उत्सुक बनेको बुझिएको छ ।

सम्बन्धित खवर