‘जनप्रतिनिधि शासक होइन, जनताको सेवक बन्नुपर्छ’

‘जनप्रतिनिधि शासक होइन, जनताको सेवक बन्नुपर्छ’

रासस / प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जनप्रतिनिधिले शासक होइन, जनताको सेवक बन्नुपर्ने बताउनुभएको छ ।

झापाको विर्तामोडस्थित भाउजु मिट मार्ट प्रालिद्वारा सञ्चालित ‘मिट माउन्ट’को आज उद्घाटन गर्दै उहाँले समाज रुपान्तरणका लागि जनप्रतिनिधि र नेताहरु सच्चिन जरुरी रहेको बताउनुभयो । नेपाली समाजमा शिक्षा आर्जन गर्दा डाक्टर र इञ्जीनियर नै बन्न प्रेरित गर्ने प्रचलन भएकाले कृषिप्रति आकर्षण कम भएको उल्लेख गर्दै उहाँले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

बिर्तामोड नगरपालिका–४ मा रहेको मिट माउन्टमा रेखाकुमारी कार्की, पल्मु शेर्पा, देवीकुमारी ढकाल र हिमा दङ्गालले रु १० करोड लगानी गर्नुभएको छ । त्यहाँ २० प्रकारका मासुमाछाको बिक्रीकक्ष छ । मिट माउन्ट सबै प्रकारका मासु माछा बिक्री हुने पसल हो । जहाँ खसी, भेँडा–च्याङ्ग्रा, बँदेल, टर्की, अस्ट्रिज, कुखुरा, बट्टाई, हाँस, कुखुरालगायतको मासु, माछा एउटै छातामुनि सुपथ मूल्यमा पाइने आयोजकको भनाइ छ ।

मिट माउन्टले देवभूमि बहुउद्देश्यीय कृषि फार्म इलाम र पूर्वी किरण कृषि फार्म झापासँग सहकार्य गरिरहेको छ । ती फार्मले कुखुरा, खसी, बँदेल, माछालगायतका पशुपक्षी उत्पादन गर्दै आएका छन् । मिट माउन्ट सञ्चालनका लागि नेपाल सरकारले तोकेको मापदण्डअनुरुप ८०० वर्गफिट क्षेत्रफलमा पशुपक्षी बधशाला र लगभग १३०० वर्गफिटमा बिक्रीकक्ष निर्माण गरिएको छ ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बालगायत सहभागि हुनुभएको मार्टका प्रबन्ध निर्देशक अबिचन्द्र रिजालले बताउनुभयो ।

सम्बन्धित खवर