दिलदार डिल्ली, जो कृषि फर्मलाई नमुना बनाउन कस्सिए

दिलदार डिल्ली, जो कृषि फर्मलाई नमुना बनाउन कस्सिए

मिलन के राउत,
उर्लाबारी / हुन त उर्लाबारी–४ का डिल्ली खतिवडालाई कृषि कर्ममा लाग्नैपर्ने बाध्यता छैन । सामाजिक र राजनीतिक क्षेत्रमा जोडिएका उनी उर्लाबारीका सफल व्यवसायीकै गन्तिमा आउछन् । सुनचाँदी पसल र घरजग्गा कारोबारलगायतमा जोडिएका छन् । चाहँदा उनी युरोप, अमेरिकातिरै पुगेर आनन्ददायी भविश्य खोज्न सक्थे । तर, उनलाई आफ्नै गाउँ–ठाउँमा कृषिकर्म गर्ने हुट्हुटी जाग्यो । अन्य कारोबारको चटारोकाबीच दिनमा एकपटक आफनो कृषि फर्ममा टहलिरहेका हुन्छन्, उनी । बाख्रा, कुखुरा, बंगुर र माछाको स्याहारमा कामदारसंगै खटिरहेकै हुन्छन् । भन्छन्–‘आत्मनिर्भर हुनैपर्छ, रोजगारीको सिर्जना देशभित्रै गर्न सकौ भन्ने सानो प्रयास हो । आधुनिक कृषि प्रणालिको सुरुवात गरिएको छ । यसबाट आयआर्जन गर्न र यूवालाई रोजगारी दिने नै उद्देश्य हो ।’

आफ्नै स्रोत र मेहनतले जोडेको जग्गामा व्यवस्थित तरिकाले खोर बनाएर ब्रोइलर कुखुरा र बंगुर पालन गरिरहेको उनी सुनाउँछन् । उर्लाबारीको किसान चौकबाट करिब १ किमी उतरमा सोल्टी खोला किनारामै छ, डिल्लीको सक्षम कृषि फर्म । दुई वटा ब्लक बनाएर ब्रोइलर पालिएका छन् । नजिकै बंगुर पालिएको छ । एउटा खाडीमा माछा पालिएको छ । शुरुवाती चरणमै भएकाले बाख्रा पालनका लागि व्यवस्ति खोर बनि नसकेको डिल्लीले बताए । उनी भन्छन्, ‘मैले केही पाउँछु भनेर बाख्रा कुखुरालगायत पाल्न थालेको होइन । केही गर्छु भन्ने मनसायले व्यवसाय सुरु गरेको हुँ ।’ डिल्लीले थपे, ‘सबैको ध्यान कृषिमा जाने हो भने मासुजन्यमा मात्र होइन, कृषिका हरेक क्षेत्रमा आत्मनिर्भर हुन सकिन्छ ।’

सुरुमा भने निकै चुनौती सामना गर्नुपरेछ उनले । ‘पहिलो एक वर्ष त धैर्यको परीक्षा नै भयो । दोस्रो वर्षदेखि राम्रो भइरहेको छ, म सन्तुष्ट नै छुु, उनी भन्छन् । प्रारम्भिक अवस्थामै भएपनि एक लट ब्रोइलर बिक्री गरिसकेका उनी आम्दानीको हिसाब–किताबतिर ध्यान नदिएको बताउछन् । दुइवटा ब्लकमा गरी जम्मा तीन हजार पाँच सय ब्रोइलर पालिएका छन् । १५ वटा बंगुर छन् । सहयोगी मानबहादुर मगरसहित अन्य दुइजनाले फार्म हाउसकोे रेखदेख गरिरहेका छन् । यो फार्म हाउसलाई लगानी विस्तार गरी उर्लाबारीकै नमुना कृषि केन्द्र बनाउने बताइएको छ । हाल ७ कट्ठामा सीमित रहेको फार्म हाउसको दायरालाई निकट भविश्यमै बढाउदै लगिनेपनि खतिवडाले जानकारी दिए । कतैबाट अनुदान नलिएका उनले फार्मका लागि हालसम्म ७० लाख खर्चिसकेको बताए । अब चाडै ड्रागन फ्रुटको खेति र भैंसी तथा पाडा पालनको तयारी पनि गरिएको बताउछन् । क्रमशः तरकारी खेती, फलफूल खेती र लोकल कुखुरा र हाँस पालन गर्नेपनि जनाए । व्यवसाय सुरु गरेको ५ वर्षमा लगानी उठ्नुका साथै प्रतिफल आउने उनी दाबी उनको छ । ‘खासगरी बाख्रा पाल्दा धैर्यशील भएर मेहनत गर्नुपर्छ । कम्तीमा दुईतीन वर्ष त केही पनि नहुँदा दुःख मान्नु हुन्नु, उनले भने । बाख्रामा अरूमा जस्तो छिटो प्रतिफल नआउने उनी बताउँछन् ।

कृषिकर्ममा लागेका युवाले उत्पादन गरेका तरकारी र पशुपंक्षी रैथाने किसानले उत्पादन गरेका कृषि उपज तथा पशुभन्दा उन्नत र फरक हुने गरेको स्थानीय अजित घिसिङको भनाइ छ । सीप एवं प्रविधिको प्रयोग गरी गाउँमा कृषिकर्म गरेका युवा नयाँ उत्साहका साथ लागेको आफूले पाएकोपनि उनले जनाए । कोरोनाका कारण उद्योग, शिक्षा, रोजगारलगायत धेरै क्षेत्र प्रभावित भएका छन् । तर, कृषि र स्वास्थ्य क्षेत्रमा भने निकै सुधारका सङ्केत देखिएका सरोकारवालाको भनाइ छ ।

सम्बन्धित खवर