पाठेघर खस्यो भन्दा भन्दै फुलमायालाई क्यानसर भयो, पैसा नहुँदा उपचारमा समस्या

पाठेघर खस्यो भन्दा भन्दै फुलमायालाई क्यानसर भयो, पैसा नहुँदा उपचारमा समस्या

भीमराज अधिकारी, पथरी

फुलमाया मगरको सरिरमा तागत हुन्जेल छर छिमेक सबैतिर काम गरिन् । छिमेकमा बनिबुतो गर्ने मात्रै हैन् मिस्त्रीहरुसंग घर तथा अन्य निर्माण क्षेत्रमा ढुङ्गा बोक्ने सम्मको मज्दुरी गरिन् । अहिले पाठेघरमा क्यानसर भएपछि घरको आँगन पनि फुलमायाका लागि टाढा भएको छ ।

मोरङ पथरी शनिश्चरे २ नवज्योती टोलमा फुलमायाको एउटा सानो घर छ । वनको छेवैमा खालि जग्गा रहेको थियो । सो जग्गा पनि माइतीका दाजुहरुले उपभोग गरिरहेका थिए तर गाउँलेहरुसंगको सल्लाहमा दाजु भाइहरुले फुलमायालाई घर बनाएर बस्न दिएका छन् । श्रीमान्संग सम्बन्ध बिच्छेद भएपनि २०५० सालदेखि आफैँ श्रम गरेर छोराहरु हुर्काएको फुलमाया बताउछिन् ।

करिब १ वर्षअघि बिरामी भएपछि अस्पताल धाउन थालेकी फुलमायालाई गत साउनमा नोवेल अस्पताल बिराटनगरले पाठेघरमा क्यानसर भएको बतायो । कहिले मृगौलामा पथरी त कहिले पाठेघरमा समस्या भएको भन्दै औषधी सेवन गरिरहेकी फुलमायाको पाठेघर खस्यो । पाठेघर खसेपछि पिसाव समेत मलद्वारबाट जान थालेको फुलमायाले बताइन् । क्यानसर भएको पत्ता लगाउन नै फुलमायाले ४० हजार सकिन् । त्यो रकम पनि सामुदायिक वन र छिमेकीहरुले सहयोग गरेका थिए । अब उपचारका लागि भरतपुर क्यानसर अस्पताल जान रकम अभाव भएपछि फुलमाया जीवन मरणको दोसाँधमा छिन् । वडा कार्यालय, नगरपालिका, सामुदायिक वन र छिमेकीहरुले आर्थिक सहयोग गरेर फुलमायाको उपचार गर्ने बताइरहेका छन् ।

फुलमायाका २ भाइ छोराहरु पनि मज्दुरी गरेर परिवारको जिविको पार्जन गरिरहेका छन् । आमाको उपचारका लागि रकम संकलन भए तत्काल उपचार गर्न लाने छोरा दिनेश पुलामी मगरले बताए । देश तथा विदेशमा रहनुहुने सबै मनकारीहरुले सकेको सहयोग गरेर आफ्नो उपचार गरिदिन फुलमायाले अनुरोध गरेकी छन् । फुलमायाको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न नवज्योती टोल बिकास समिति अध्यक्ष खेमराज न्यौपानेको संयोजकत्वमा समिति समेत गठन भएको छ । सहयोग गर्न चाहनेहरुले फुलमायाका छोरा दिनेश पुलामीको शिद्धार्थ बैंक पथरी शाखामा रहेको खाता नं. ००७१८३००९४० मा सहयोग पठाउन सकिने समितिले जनाएको छ । सम्पर्क गर्नुपरेमा समितिका संयोजक न्यौपानेको फोन नं. ९८०७३१३१३४ मा गर्न सकिने जनकारी दिइएको छ ।

सम्बन्धित खवर