काम गर्न नसक्ने भए सक्नेलाई नेतृत्व दिनुस् : कार्की

काम गर्न नसक्ने भए सक्नेलाई नेतृत्व दिनुस् : कार्की

विराटनगर । प्रदेश नम्बर १ का कांग्रेसका सांसद केदार कार्कीले सरकार चलाउन र जनताप्रति जिम्मेवार बन्न नसक्ने भए फुर्सद लिएर आफ्नै दलको अरु कसैलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शेरधन राईलाई आग्रह गरेका छन् ।

बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै कार्कीले महामारीका बेला जनताले अपेक्षा गरेअनुसार काम गर्न नसकेको सरकारले आश्वासन मात्र बाँडेको आरोप लगाए । “सरकार आफू काम गर्न नसक्ने अवस्थामा पुगेपछि सरकार विपक्षीका कारण काम गर्न नसकेको भन्ने आरोप लगाउने गरिएको छ । मुख्यमन्त्री आफैँ सदनमा उभिएर झुट बोलिरहनु भएको छ । बरु, आफू काम गर्न सक्नुहुन्न भने आफ्नै दलको काम गर्न सक्नेलाई सरकारको नेतृत्व गर्न दिनुहोस्,” उनले भने ।

जनतालाई चाहिने आवश्यकताका बेला पनि सरकार नभेटिएको अनि गाउँ गाउँमा सिंहदरबार आयो भनिए पनि प्रदेश नम्बर १ का मन्त्रीहरुका लागि कार्यालय र आवास बनाइए पनि सबै मन्त्री काठमाडौंमै व्यस्त हुने गरेको उनले बताएका छन् । उनले भने, “मन्त्रीहरु काठमाडौं जान व्यस्त हुनुहुन्छ । सरकार कहाँ छ ? मुख्यमन्त्रीज्यूलाई पनि गाली गर्नु हुन्न, मधुमास मनाउन पाउनु पर्छ । जनता मर्दै जाने, सरकार लास गन्दै जाने गर्दैछ ।”

कार्कीले विराटनगरमा १० दिनमा कोरोना अस्प्ताल बनाएको भनेर दाबी गरिए पनि त्यो बन्द रहेको बताए । “९६ वटा बेडको नगारिक केयर सेन्टर जनताको पहलमा बनेको हो । सरकारले नाक घोर्क्याएको छ । बनाएको भए ८० बेडको अस्पताल किन बन्द छ ?,” कार्कीले प्रश्न गरे, “झापामै होम आइसोलेसनमा बिरामी मर्न लागेपछि बिएन्डसीमा लिएर जाँदा भर्ना लिएन, फर्काएर ल्यायो, मान्छे मर्यो । रेम्डेसिभिरमा डाक्टर र मानिस मिसेर कालोधन्दा भइरहेको छ । सामाजिक विकास समितिले अनुगमन गरेको छ । तर, सांसदलाई अनुगमन गर्न लगाउने अनि सरकार भाग्ने ?”

मुख्यमन्त्री राईले सांसद् र जनतालाई ठगेको उनको आरोप छ । कोरोनाको उपचारका लागि छुट्ट्याएको ५० करोड रकम कहाँ गयो ? भन्दै उनले निजी अस्पतालमा संक्रमितले चर्को मूल्य चुकाउनुपर्ने अवस्था रहेको जिकिर गरे । जनतालाई घरभित्र थुनेर सरकारले अनलाइन कक्षाको सपना बाँड्ने काम गरेको उनको भनाइ छ ।

सम्बन्धित खवर