नेदरल्याण्डसलाई १४२ रनले हराउँदै त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपालले जित्यो

नेदरल्याण्डसलाई १४२ रनले हराउँदै त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपालले जित्यो

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले नेदरल्यान्डलाई १ सय ४२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधिमा कब्जा जमाएको हो ।

नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ९६ रनमा समेटियो । नेदरल्यान्ड्सका सेबस्टियान ब्राटले २६, म्याक्स ओडवूडले २० तथा पिटर सिलरले १३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

नेदरल्यन्ड्सलाई सस्तैमा समेट्ने क्रममा नेपालका करण केसीले ३ तथा कमल सिंह ऐरी र सन्दीप लामिछानेले समान २–२ तथा अविनाश बोहराले एक विकेट लिए ।

यसअिघ, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ३८ रन बनायो । टी–२० क्रिकेटमा यो नेपालको सबैभन्दा उच्च योगफल हो ।

नेपालका लागि कुशल भुर्तेल र कुशल मल्लले अर्धशतीय योगदान दिए । टी–२० क्रिकेटमा व्यक्तिगत चौथो अर्धशतक प्रहर गर्ने क्रममा भुर्तेलले ५३ बलमा ३ छक्का र ८ चौकासहित ७७ रन बनाए । यसैगरी मल्लले नटआउट ५० रनको पारी खेले । मल्लले २४ बलमा ५ छक्का र ३ चौका हिर्काए ।

कप्तान ज्ञानेन्द्र मल्लले ३३, आसिफ शेखले १६ रनको योगदान दिए भने दीपेन्द्र सिंह ऐरीले अविजित ४८ रन जोडे ।

नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । पछिल्लो समय त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सन् २०१० मा अमेरिकालाई हराउँदै आइसिसी डिभिजन–५ को उपाधि जितेको थियो ।

नेपालले टी–२० अन्तर्राष्ट्रिय इतिहासकै सर्वाधिक ठूलाे अन्तरले जितकाे हाे । यसअघि नेपालले २०१९ मा भुटानमाथि १ सय ४१ रनकाे फराकिलाे अन्तरकाे जित हात पारेकाे थियाे ।

सम्बन्धित खवर