पथरी, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्वाहाम्फेले जसरी पनि सुकुम्बासी समस्या समाधान गर्ने बताउनुभएको छ ।
शुक्रबार मोरङको मिक्लाजुङमा आयोजित नेकपा एमालेको गाउँ कमिटि घोषणा कार्यक्रमका आउनुभएकी तुम्वाहाम्फेले सो कुरा बताउनुभएको हो । सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा भूमिहिन दलितको व्यवस्थापनका लागि भन्दै सरकारले आयोग गठन गरेर लगत सङ्कलन गरेको छ ।
लगत सङ्कलनका क्रममा जनप्रतिनिधिहरुले विशेष ध्यान पु¥याउन पनि आग्रह गर्दै तुम्वाहाम्फेले भन्नुभयो– यो आयोग पहिलाको जस्तो छैन् । यसको ऐन, नियम सबै बनेको छ । यो आयोगले सरकार परिवर्तन भएपनि नभएपनि निरन्तर काम गर्ने छ । लगत सङ्कलनका क्रममा जनप्रतिनिधिले पनि ध्यान दिनु जरुरी छ र फाराम भर्नेले पनि ध्यान दिनुपर्छ । परिवारको अलग अलग बनाएर दोहोरो फाराम भर्ने, आफ्नो जग्गा जमिन हुँदा हुँदै पनि सुकुम्बासी फाराम भरेको पाइएमा स्वतः खारेज हुने छ ।
सरकार डिजिटल नेपालको अवधारणामा अगाडी बढेको भन्दै तुम्वाहाम्फेले भर्खरै जारी गरिएको मेरो कित्ताका बारेमा पनि भनाइ राख्नुभयो । सरकारले अब चाँडै नै लाइन लागेर गर्नुपर्ने सरकारी कामहरु अनलाइनबाट सहज रुपमा गर्नसक्ने बनाउने पनि बताउनुभयो । मालपोत र नापी कार्यालयहरुमा हुने लाइनलाई छिटै व्यवस्थापन गर्न सरकार लागि परेको पनि तुम्वाहाम्फेले बताउनुभयो ।