सिरहाको पतारी पोखरी, जँहा महिलाले डुबुल्की लगाउँदा सन्तान प्राप्त हुन्छ

सिरहाको पतारी पोखरी, जँहा महिलाले डुबुल्की लगाउँदा सन्तान प्राप्त हुन्छ

लहान, पूर्व–पश्चिम सडकको धनगढी बजारबाट करिब १० किलोकमिटर दक्षिणमा पर्ने लक्ष्मीपुर गाउँपालिका ३ मा रहेको पतारी पोखरीमा अनौठो दैवी शक्ति रहेको बताइन्छ । सन्तान प्राप्तिको आकाङ्क्षासहित आउने निःसन्तान दम्पतीहरुको भीडले मानिसहरुमा अझै अदृश्य शक्तिमा अगाध आस्था छ भन्ने कुरा स्वीकार्न बाध्य बनाउँछ ।

हरेक वर्ष वैशाख २ गते लाग्ने मेलामा भारतको उत्तरी बिहारका पटना, मधुवनी, दरभंगा, जयनगरसहित नेपालका विशेष गरी तराई र तराईले छोएका विभिन्न जिल्लाहरुबाट निःसन्तान दम्पतीहरु सन्तान प्राप्तिको आकांक्षासहित त्यहाँ पुग्ने गर्दछन् ।
करिब १० बिघा क्षेत्रफलमा फैलिएको पोखरीको दक्षिणी किनारमा रहेको मन्दिर (गहवर)को पूर्वी ढोकामा वैशाख १ गते साँझदेखि निरन्तर १८ घण्टासम्म निराहार बसेर भोलिपल्ट मध्याह्न गहवरभित्र रहने विशेष आराधना (कोकिया गुहाइर)बाट अक्षता लिएर गहवरको उत्तरी गेटबाट सिधै पोखरीमा हामफाल्नुपर्ने मान्यता छ ।

त्यसरी हाम फालेपछि पोखरीमा पहिलो डुबुल्कीमै पानीभित्र कुनै पनि जीव भेटिए सन्तान हुने विश्वास गरिन्छ। पानीमा भेटिएको जीव मुठ्ठीमै राखेर दौडिँदै गाउँको सीमा पार गर्नुपर्ने मान्यताअनुरुप पोखरीबाट निस्केका भक्तजनहरुको पछिपछि आउने आफन्तले गाउँको सीमा कटेपछि कपडा फेरिदिने गर्दछन् ।

कपडा फेरेर आफ्नो घर पुगेपछि पानीबाट ल्याएको जीवको बुटी बनाएर व्रत बसेका महिलाले पाखुरा या घाँटीको मालामा राखे सन्तान प्राप्त हुने जनविश्वास रहेको छ । पतारी पकडियाका राजा कुलेसरका कान्छा भाइ हरिसिंहदेवको निवासस्थल रहेको लोकनायक सलहेश गाथामा उल्लेख छ । यो पोखरी राजा सलहेशकै बेला वि. सं. १३२५ तिरदेखि अस्तित्वमा रहेको मानिएको छ ।

निःसन्तान दम्पतीका लागि चिकित्सा विज्ञान ले सन्तान प्राप्ति गर्ने अनेकैँ उपाय र विधिहरु पहिल्यै दिएको छ तर सन्तान प्राप्तिको चाहना राख्ने दम्पती सन्तान पाउन धार्मिक पुजा पाठमा समेत अगाध आस्था राख्छन् भन्ने उदाहरण हो, सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा हरेक वर्ष बैशाख २ गते लाग्ने पतारी मेला हो ।

सम्बन्धित खवर